प्रचण्डको सचिवालयले भन्यो - असहमति पार्टीको पद्धतिअनुरूप दर्ज गरौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले पार्टीभित्रका असहमति पार्टीको पद्धतिअनुरूप दर्ज गर्दा उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ ।

अध्यक्ष प्रचण्ड र नेता नारायणकाजीबीच मतभेद बढ्दै गएपछि प्रचण्डको सचिवालयले पार्टीभित्र देखिएका असहमति पद्धतिअनुरुप दर्ता गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको हो ।

'पार्टीमा नेताहरूबीच कहिलेकाहीँ मुद्दागत/विषयगत अस्पष्टता र असहमतिहरू हुनसक्छन, हुन्छन् । ती विषयहरूलाई पार्टी पद्धति अनुरूप नै दर्ज गर्नु र पार्टी निर्णयलाई पालना गर्नु हरेक पार्टी सदस्यको जिम्मेवारी हो,' प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन् ।

प्रचण्डको सचिवालयले असन्तुष्ट नेताहरूलाई आफ्नो विचार र धारणा पद्धतिसङ्गत रूपमा राख्न पनि आग्रह गरेको छ । त्यस्तै सचिवालयले कोही कसैप्रति असहिष्णु र अमर्यादित रुपले प्रस्तुत हुन पनि सचेत गराएको छ ।

'पहिलो कुरा, आफ्नो विचार र धारणा पद्धतिसङ्गत रूपमा राखौं । दोस्रो कुरा, कोही कसैप्रति असहिष्णु र अमर्यादित रुपले प्रस्तुत नबनौँ' मल्लले भनेका छन्, 'देश, जनता, पार्टी र वर्गको हितरक्षा भन्दा पर हाम्रो कुनै उद्देश्य छैन र हुनु हुँदैन ।'

एमसिसी पास गराउने पार्टीको निर्णयलाई लिएर माओवादी केन्द्रभित्र विवाद बढ्दै गएको छ । विशेषतः नेता श्रेष्ठ र उनी पक्षीय नेताहरू पार्टीको सो निर्णयलाई असन्तुष्ट छन् । उनीहरूले पार्टीबाट अलग हुन समेत नेता श्रेष्ठलाई सुझाएका छन् । नेता श्रेष्ठले आफूनिकट नेताहरूसँग परामर्श सुरु गरेका छन् ।



यसैबीच अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई भेटेका छन् । उनी नेता श्रेष्ठलाई मनाउन उनकै निवास हात्तीवन पुगेर मंगलबार दिउँसो भेटेका थिए ।



  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १८:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया