जनकपुरमा एमालेको समानान्तर कार्यसमिति, आधिकारिक भएको आ-आफ्नै दाबी

मंगलबार जनकपुरधामस्थित शुभम होटलमा नेकपा एमालेको नगर कमिटी बैठक बस्यो । 

त्यसअघि सोमबार नै पिडारी चोकस्थित जानकी वाटिका पार्टी प्यालेसमा पनि एमालेकै बैठक बसेको थियो । फरक-फरक ठाउँमा फरक-फरक कार्यक्रम गर्ने यो नेकपा एमाले हो । नगरमा दुई वटा एमाले सक्रिय छन् । 

नगर अधिवेशनबाट निर्वाचित शुभनारायण मण्डल नेतृत्वको एउटा नगर कमिटी छ भने सुरेन्द्र भण्डारीलाई संयोजक बनाएर अर्को एमालेका छुट्टाछुट्टै समूह क्रियाशील छन् ।

दुवैले आ–आफ्नो कमिटी आधिकारिक भन्दै आएका छन् । भण्डारी नेतृत्वको नेकपा एमालेको नगर कमिटीको उपाध्यक्षमा सन्तोषकुमार महतो, सचिवमा राजु साह र उपसचिवद्वयमा रोका मिश्रा र दिपनारायणकुमार साह निर्वाचित भएका हुन् ।

८५ सदस्यीय नगर कमिटीका संयोजक भण्डारीले आफूहरू आधिकारिक भएको दाबी गरे । केही सदस्य यताउता नगरेर बसेकाले मण्डल समूहमा १० प्रतिशत मान्छे मात्रै रहेको संयोजक भण्डारीको भनाइ छ ।

उनले पोलिटब्युरो सदस्य नेतृ जुलीकुमारी महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, गंगाराम यादव सहितको उपस्थितिका बीच भएको नगर अधिवेशन मान्य रहेको दाबी गरे । 



सोमबार भएको भनिएको अर्को समूहको नगर अधिवेशन आधिकारिक नरहेको भन्दै भ्रममा नर्पन पार्टीका सबै तहसँग उनले आग्रह गरेका छन् । उनले आफ्नो पक्षको अधिवेशनमा २५ मध्ये २३ वडा कमिटीका सदस्यहरूको उपस्थिति रहेकोले अधिकारिक रहेको बताए । 

यता, सोमबार नै नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनबाट पनि सर्वसम्मत रूपमा ८५ सदस्यीय कमिटी गठन गरिएको थियो । शुभनारायण मण्डल नेतृत्वको नेकपा एमालेको नगर कमिटीको उपाध्यक्षमा महेन्द्रप्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सह–सचिवद्वयमा जय प्रकाश साह र रितादेवी साह रहेका छन् । 



सोमबार संयोजक तोकिएका शुभनारायण मण्डलले आफूहरू नै पार्टीको संस्थापन भएको बताए । अर्को टोली माथिदेखि नै समानान्तर कमिटी बनाएर गइरहेकाले त्यो पार्टी नीति, विधि र पद्धति विपरीत रहेको उनको भनाइ छ । 

उनले यसरी विभाजित भएर जाँदा जनतामा नैराश्यता छाएकाले एउटै भएर जाने गरी छलफल चलिरहेको पनि बताए । 

केन्द्रीय कमिटी बैठकका निर्णय, सर्कुलरअनुसार नै पार्टी काममा रहेकाले अर्को पार्टी छ/छैन भन्ने विषय महत्वपूर्ण नभएको उनले बताए । 

जनकपुरधाम नगरमा पार्टीका केन्द्रीय सदस्य यदुवंश झा र सचिव रघुवीर महासेठका समूहले छुट्टाछुट्टै अधिवेशन गरी समानान्तर कार्यसमिति गठन गरेका हुन् ।

झा पक्षधरका मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का तत्कालीन वडाध्यक्ष हुन् । उनी भ्रष्टाचार आरोपमा निलम्बन भइसकेका छन् । हालसम्म उनी भ्रष्टाचार मुद्दा खेप्दै नै आएका हुन् भने महासेठ पक्षधरका भण्डारी ठेकेदार र व्यवसायी पेशाबाट आबद्ध हुन् । 

यता, विवादबारे जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टीभित्र गुट उपगुट हावी भएकोले  जिल्लाको विभिन्न स्थानीय तहमा विवाद र जनकपुरधाम उपमहानगरमा समानान्तर कमिटी नै गठन हुनु गलत रहेको बताए ।

  • प्रकाशित मिति : फागुन १७, २०७८ मंगलबार १९:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया