समुदाय–प्रहरी साझेदारी कार्यक्रम
नेपाल प्रहरीः विवरणमा अब्बल, व्यवहारमा असफल

काठमाडौ‌ं– निर्मला पन्त प्रकरणमा चरम लापरबाही गरेर जनविश्वास गुमाएको प्रहरीले एक महिनाअघि मात्रै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सुरु गरेको थियो । शान्ति, सुरक्षा र सुव्यवस्थाका लागि समुदायसँग साझेदारी गर्ने भन्दै प्रहरीले यो कार्यक्रमको उद्घाटन गृहमन्त्रीबाटै गराएको थियो ।

यसअघि २०७३ मा पनि प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान सञ्चालन गरेको थियो । तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुरु गरेको प्रहरीको यो कार्यक्रम असफल कार्यक्रम मानिन्छ । विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य थियो । प्रहरी मेरो साथी कार्यक्रमले संगठनको प्रतिष्ठा बढाउने प्रहरीको दाबी थियो ।

‘हर प्रहर, गाउँ नगरीः टोल–टोलमा नेपाल प्रहरी’ भन्दै गत कात्तिकमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरिएको थियो । नारा फरक भए पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमले पनि अघिल्लो कार्यक्रमजस्तै विद्यालय तथा समुदायमा सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाउने उद्देश्य राखेको थियो ।

३३ किलो सुनकाण्ड, निर्मला प्रकरणलगायतमा चौतर्फी आलोचना खेपिरहेको प्रहरीले समुदाय साझेदारी अभियान सञ्चालन गरेको एक महिनामै विभिन्न हिंसामा परेका ३ सय ८६ जना महिलाको उद्धार गरेको विवरण सार्वजनिक गरेको छ । विभिन्न २६ वटा शीर्षकमा देशभर कार्यक्रम र अन्तरक्रिया गरिरहेको प्रहरीले महिला तथा बालबालिका हिंसाविरुद्धको कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

प्रहरीको विवरणअनुसार देशभरका विभिन्न स्थानमा महिला तथा बालबालिका हिंसाविरुद्ध ५७ वटा कार्यक्रम सञ्चालन गरेको देखिएको छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत कार्यक्रममा देशभरका ९ हजार महिला सहभागी भएको प्रहरीको विवरणले देखाएको छ । त्यसैगरी, जर्बजस्ती करणीविरुद्धका ८ वटा कार्यक्रममा ५ सय ३७ जना सहभागी भएका थिए ।

विद्यालयमा समेत प्रहरीले यो कार्यक्रम सुरु गरेको छ । प्रहरीले देशभरका विभिन्न विद्यालयमा १ सय ५८ वटा कार्यक्रम गरेको बताएको छ ।



मंसिर २५ गतेको दिगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरूले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई ‘निर्मला पन्तको हत्यारा समाउन नसक्ने भए राजीनामा दिनुस्’ भनेका थिए । 

बैठकमा सांसदले प्रहरीले जनविश्वास गुमाएको र फर्जी हत्यारा बनाएर जनतालाई आतंकित पार्ने काम गरेको समेत आरोप लगाएका थिए । सांसदले नै प्रहरीले जनविश्वास गुमाएको र फर्जी हत्यारा बनाउने आरोप लगाइरहँदा प्रहरी महानिरीक्षक खनालले चुनौतीपूर्ण भाषामा आफ्नो गल्ती भेटिए बर्दी फुकालिदिन सांसदलाई आग्रह गरेका थिए ।



आफूले अनुसन्धानमा दबाब नदिने र दिएको भेटिएमा बर्दी फुकादिनुस् भनेर चुनौती दिने महानिरीक्षक खनाल सांसद मुक्ताकुमारी यादवको प्रश्नमा भने मौन बसे । यादवले आफ्नै घटना सुनाउँदै भनेकी थिइन्,  ‘छिमेकीको घरमा गएको मेरो छोराको चैत २ गते हत्या भयो, प्रहरीले दुर्घटना भनेर मुचुल्का उठायो । जबकि उसको हातमा धारिलो हतियारको घाउ थियो,’ त्यसपछि यादवले महानिरीक्षकलाई प्रश्न गरिन्, ‘आइजिपीसाब मेरो छोराको हत्या अनुसन्धान कहाँ पुग्यो ?’

महानिरीक्षक खनालले यादवको प्रश्नको जवाफ नदिए पनि प्रहरीले आफ्नो प्रगति विवरणमा भने एक महिनाको अवधिमा करिब ४ हजार अपराधी पक्राउ गरेको विवरण सार्वजनिक गरेको छ ।

संसदीय समितिमा महानिरीक्षक खनालले प्रहरीसँग पर्याप्त स्रोत–साधन नहुँदा र आवश्यक क्षेत्रमा सिसिटिभी नभएका कारण नै सीमानाकाबाट अपराधी भाग्ने गरेको जवाफ दिएका थिए । तर, प्रहरीले सार्वजनिक गरेको विवरणमा साउन १ गतेयता मात्र देशभरमा ७ सय ८४ वटा सिसिटीभी जडान गरेको बताएको छ । 

निर्मला पन्त प्रकरणमा रहस्यमयी ठानिएको ओपेरा होटलको सिसिटिभी फुटेज रिकभर गर्न नसकेको प्रहरीले आफ्नो प्रगति विवरणमा भने साउन १ गतेयता सबैभन्दा धेरै सिसिटिभी सुदूरपश्चिम प्रदेशमा जडान गरेको सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेशमा प्रहरीले १ सय ६४ वटा सिसिटिभी जडान गरेको विवरण देखाएको छ ।

प्रहरीको विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा प्रहरीको प्रत्यक्ष निगरानीमा ३३ वटा सिसिटिभी रहेका छन् भने प्रहरीले अनुसन्धानका लागि प्रयोग गर्न सक्ने सिसिटिभीको संख्या १ सय ३३ छ ।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर च्यात्दै हिँडेको प्रहरीले समुदाय साझेदारी कार्यक्रम सुरु गरेको एक महिनाको अवधिमा देशभरका १० हजार प्रहरीलाई प्रशिक्षण दिएको बताएको छ । देशभरका विभिन्न स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँस्दै हिँडेका युवालाई प्रहरीले पक्राउ पनि गरेको थियो । प्रहरीको विवरणअनुसार प्रहरीले समुदाय साझेदारी कार्यक्रमको एक महिनामा विभिन्न घटनामा ८ सय ३३ जना पक्राउ गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि प्रहरीले देशभरका ७ सय ४० वटा स्थानीयतहसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

स्थानीय तहमा सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यमबाट काम गर्ने भन्दै सुरु भएको समुदाय साझेदारी कार्यक्रमअन्र्तगत प्रहरीले देशभरका ७ सय ४० वटा स्थानीयतहसँग सम्झौता गरेको छ । प्रहरीले यही अभियानअन्र्तगत ४ हजार ६ सय ७७ वटा समिति गठन पनि गरेको छ । 
   
 

  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १८:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया