काठमाडौं सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षण गर्ने तयारी गरे पनि लक्ष्यभन्दा निकै कम मात्र आवेदन परेको छ ।
सरकारले यस वर्ष वैदेशिक रोजगारीबाट फर्केका एक हजार युवाको २० प्रकारका सीप परीक्षण गर्ने लक्ष्य लिएको थियो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले दुई साताअघि वैदेशिक रोजगारीबाट विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका कामदारको निःशुल्क सीप परीक्षण गर्ने सूचना जारी गरे पनि बिहीबारसम्म ६० युवाले मात्र सीप परीक्षणका लागि निवेदन दिएका बोर्डका उपसचिव दीनबन्धु सुवेदीले जानकारी दिए ।
लक्ष्य गरेकाभन्दा निकै कम सङ्ख्यामा युवाले आवदेन गरेका उनले बताए । उनका अनुसार कैलालीमा १३ जनाले निवेदन दिएका छन् भने पर्सा, सिरहा, धनुषा, बागलुङलगायत केन्द्रम कुनै पनि निवेदन परेका छैन ।
बोर्डले सिटिइभिटीको सहयोगमा तह १ को सीप परीक्षण गर्ने तयारी गरेको थियो ।
बोर्डले विभिन्न २० प्रकारका सीपको परीक्षण हुने जनाएको छ । विल्डिङ पेन्टर, फर्निचर मेकर, जुनियर प्लम्बर, स्काप फोल्डर, सटरिङ कार्पेन्ट्री, स्टोन लेयर मेसन ९डकर्मी०, विल्डिङ इलेक्ट्रेसिन, इन्डस्ट्रियल इलेक्ट्रिसियन र असिस्टेन्स ब्यूटिसियनको सीप परीक्षण गरी प्रमाणपत्र दिने जनाएको छ ।
यस्तै, असिस्टेन्ट वेटर, केयर गिभर, कमि तेस्रो, हाउस किपिङ क्लिनर, आर्क वेल्डर, आलुमिनियम फेब्रिकेटर, रेफ्रिजेरेशन एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, सुरक्षा गार्ड, टेलरिङ, एक्साभेटर अपरेटर र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण गरिनेछ ।
सीप परीक्षणका लागि बोर्डले तोकेको फारमसँगै नागरिकताको प्रमाणपत्र र राहदानीको प्रतिलिपी, वैदेशिक रोजगारीमा गएको प्रमाणीत हुने अन्य कागजात पेश गर्नुपर्नेछ । यही पुस ११ गतेसम्म निवेदन दिन सकिने बोर्डले जनाएको छ ।
सातै प्रदेशका विभिन्न स्थानमा सीप परीक्षणका लागि निवेदन दिन सकिने उपसचिव सुवेदीले जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।