\
बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका-६ फत्तेपुरको जंगलबाट बुधबार बिहान साढे १० बजे बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।
फत्तेपुरस्थित सिक्टाको पूर्वी नहर पारि राप्तीपीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।
‘बिहान ९ः४० बजेतिर डाट हानेको बाघलाई साढे १० बजे फेला पारिएको हो । करिब आठ वर्षको अजंगको भाले बाघ नियन्त्रणमा आएको छ’, उनले भने ।
उक्त स्थानमा बाघको आहाराका लागि १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मंगलबार नै सिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए ।
पाडोलाई सिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।
बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघको आक्रमणमा परेर पाँचजनाले ज्यान गुमाइसकेका छन् ।
धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए ।
यसैबीच सो बाघलाई बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाउन आवश्यक तयारीसहित ओभरी शमशेरगञ्ज लैजान लागिएको प्रमुख वन अधिकृत कंडेलले जानकारी दिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।