बहुआयामिक स्रोतको रूपमा प्रयोग गर्ने योजनाअनुसार निर्माण सुरु गरेको वासुदेव सभागृह निर्माण सम्पन्न नहुँदैे भत्काइएको छ ।
विसं २०६० मा तत्कालीन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण सुरु गरेको सभागृह सम्पन्न नहुँदै अहिले भत्काइएको हो ।
तत्कालीन नगरप्रमुख मधु अधिकारीको पहलमा कार्यक्रम वा सभासम्मेलन गर्नका लागि सभाहलको आवश्यकता महसुस भएपछि अधिकारीकै पहलमा स्थानीय विकास मन्त्रालय र नगरपालिकाको संयुक्त २ करोड ५० लाख लागतमा सभागृह निर्माण सुरु गरिएको थियो ।
बागमती प्रदेश सरकार र उपमहानगरको साझेदारीमा बन्न लागेको वासुदेव स्मृति कमर्सियल भ्युटावरको लागि ४ करोड बजेट विनियोजित भइसकेको छ । हेटौंडा उपमहानगरपालिकाले सभागृह भत्काएर वासुदेव स्मृति कमर्सियल भ्युटावर बनाउने तयारी गरेको हो ।
उपमहानगरले भ्युटावर बनाएर स्थानीयलाई मनोरञ्जन दिने र कार्यालयको आन्तरिक आयस्रोत बढाउने योजना लिएको जनाएको छ ।
भ्युटारबाट हेटौंडाको दृश्यावलोकनसँगै बैंक तथा वित्तिय संस्था, व्यापारिक प्रयोजनका लागि सटर बनाउने योजना कार्यालयको छ । भ्युटार बनाउन हेटाैंडा उपमहानगरपालिकाले १ विगाह जग्गा छुट्याइसकेको छ ।
विरोधकै बीचमा पनि उपमहानगरले सभागृह भत्काएर सोही स्थानमा १३ तलाको बहुउद्देश्यीय भवन निर्माणका लागि मंसिर अन्तिम साता निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा काम गर्ने गरी सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए ।
केही वर्षअगाडि मात्रै २ करोड भन्दा धेरैखर्च गरी बनाइएको सभागृह भत्काउनुभन्दा पनि मर्मत गरेर जोगाउन पर्ने जिल्लाका केही व्यक्तिहरूको धारणा छ भने विनासले नै विकास ल्याउने भन्दै एक पक्षले समर्थन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।