logo-img

विप्लवको सक्रियताले थप तनावमा प्रचण्ड

गत आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ । व्याख्यात्मक घोषणामार्फत एमसिसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसिसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए । भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्यथा नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए । 

नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्ने सवालमा मतभेद देखिएको बारे प्रचण्डसँगको भेटमा कुरा भएको बताएका थिए । ‘एमसिसी पारित गर्ने सवालमा मतभेद देखियो त्यो राख्नुस्, तर पार्टीलाई एकताबद्ध बनाएर लैजानु नै आजको आवश्यकता हो,’ प्रचण्डको भनाइ उदृत गर्दै उनले आफूहरु पार्टीबाट निस्कने निष्कर्षमा पुगेर गतिविधि नगरेको बताएको जनाए ।

‘पार्टीबाट निस्कने निष्कर्षमा पुगेर गतिविधि गरेको होइन, तर बाहिर गए हुन्छ भनेपछि हामी पार्टीमा बस्नुनपर्ने जस्तो, बाहिर जानुपर्ने जस्तो स्थिति त्यो प्रस्तुतिले दिएको उनले प्रचण्डसँग बताएका थिए । 

त्यसअघि सोमबार एमसिसीबारे पार्टी धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसिसीको विरोध गरेर भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नुभएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नुभएको होला । एमसिसीको विरोध गर्नेबित्तिकै सबै जनता आउने भए विचरा प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरिरहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानुपर्ने हो, तर त्यस्तो हुँदैन ।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगेर पार्टी गठन गरेको भए पनि पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराएका थिए ।



‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसिसीमा कोही सेन्टिमेन्टमा आउन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनुपर्छ,’ उनले भनेका थिए । 

प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । जसलाई नेता श्रेष्ठको अभिव्यक्तिले पनि पुष्टि गर्छ । 



‘अस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफूनिकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ,’ श्रेष्ठनिकट एक नेताले भने ।

तर, असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीर रुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई समान्य रुपमा लिनु पर्ने बताए । आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठकमा नेता श्रेष्ठ पक्ष कडा रुपमा प्रस्तुत हुने र त्यहाँबाट पार्टीमा रहने वा नयाँ विकल्पबारे अघि बढ्ने निष्कर्षमा पुग्ने तयारी छ । 

प्रचण्डलाई तनाव !

पार्टीभित्रको विवाद जारी रहँदा प्रचण्डलाई अर्को तनाव थपिएको छ । माओवादी जनयुद्धमा आफ्नो साथमा रहेका नेत्रविक्रम चन्द विप्लवले प्रचण्डलाई थप तनाव दिएका छन् । हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव रहेका विप्लवले नेता श्रेष्ठसँग बुधबार बिहान छलफल गरेका छन् । त्यसक्रममा विप्लवले राजनीतिक सहकार्य गर्न प्रस्ताव गरेका छन् । 

नेकपा एमालेसँग एकता गरेर नेकपा हुँदै पार्टी पुरानै अवस्थामा फर्कंदा सांगठनिक रुपमा प्रचण्डलाई ठूलो घाटा लागेको छ । रामबहादुर थापासहितका वरिष्ठ नेताहरुले एमाले रोजेपछि र माओवादीतर्फ मतदाता र कार्यकर्ताको आकर्षण घटिरहँदा महत्वपूर्ण नेता श्रेष्ठसहितको समूह कतै आफूबाट टाढिने पो हो कि भन्ने त्रास प्रचण्डमा छ । 

यस्तोमा विप्लवले नेकपा एकीकृत समाजवादीमा एमसिसीको सवालमा असन्तुष्ट देखिएका झलनाथ खनाल र एमालेमा असस्तुष्ट भीम रावललगायतसँग समेत छलफल गरेर अघि बढ्ने विषय बाहिरिँदा प्रचण्ड थप तनावमा परेका छन् । तर, प्रचण्ड निकटका कतिपय नेताले भने प्रचण्ड अभिव्यक्तिमा चुकेको भए पनि त्यसलाई नेता श्रेष्ठले भागबन्डाको हतियार बनाएको तर्क गर्छन् । 

‘असन्तुष्टिलाई पार्टीको बैठकमा राखेर अघि बढ्नुपर्नेमा समस्यालाई बाहिर उजागर गरेर उहाँले बार्गेनिङ गर्न खोज्नुभएको छ,’ प्रचण्डनिकटका एक नेताले आरोप लगाए ।

  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया