\


एमसिसी पारित भएलगत्तै विप्लवले किन बढाए सक्रियता ?
फरकधार / १८ फागुन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

एमसिसीविरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक सक्रियता बढाएका छन् । गत आइतबार प्रतिनिधिसभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन् । 

जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसिसीलाई संसदले अनुमोदन गरेसँगै विप्लवलगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् । एमसिसी राष्ट्रघाती रहेको भन्दै संसदमा टेबल गर्नुअघिबाटै आन्दोनमा उत्रिएको वाम पार्टीहरुको समूहले आन्दोलनलाई प्रभावकारी बनाउन पहल थालेको छ । 

सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरी व्याख्यात्मक घोषणाको सहारा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ । माओ‌वादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले विरोध गरिरहेका छन् । 

त्यस्तै, एमसिसी पारित गर्ने समयमा बेल घेरेर बसेको नेकपा एमालेका नेता भीम रावल पनि एमसिसीको विपक्षमा उभिएका छन् । यस्तोमा नेकपाका महासचिव विप्लवले आफ्नो सक्रियता बढाएका छन् । 



उनले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमसिसी सम्झौताको संसदमा चर्को विरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् । 

विप्लवले एमसिसीविरोधी नेताहरुलाई आफूहरुको समूहले आयोजना गर्न लागेको एमसिसीविरुद्धको सभामा सहभागी गराउन पहल गरिरहेको जनाइएको छ । नेताहरुसँगको भेटमा विप्लवले राजनीतिक सहकार्यको प्रस्ताव गरिरहेका छन् । 



  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार २१:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया