धनगढी उपमहानगरमा मेयरमा गोपाल हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

कैलालीको धनगढी उपमहानगरपालिका मेयर पदका लागि सुन्दर सुदूरपश्चिमका अभियान्ता एवं उद्योगी गोपाल हमालले स्वतन्त्र पदबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर हो ।

बिहीबार धनगढीमा एक कार्यक्रम गरी धनगढीको विकासका लागि आफ्नो उम्मेदवारी रहेको हमालले बताए । उनले मेयरका लागि राज्यबाट दिने सेवा सुविधासमेत नलिने गरी उम्मेदवारी दिने घोषणा कार्यक्रममा गरेका छन् ।

‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि लिन्नँ,’ घोषणा सभामा हमालले भने, ‘धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दैन । मेयरले पाउने कुनै लाभ लिँदैन । निःस्वार्थ रूपमा काम गर्छ । एक पटक मलाई भोट दिइदिनुस् ।’

हमालले अहिले व्याप्त भ्रष्टाचारको प्रवृत्तिलाई मेयर भएपछि कल्याणकारी प्रवृत्तिमा कायम गरेर देखाउने दाबी गरेका छन् ।

अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमालले अन्तिम पटक धनगढी उपमहानगरको उम्मेदवारी दिन लागेको बताए ।

‘मलाई जे दिएको हो, यही धनगढी र सुदूरपश्चिमले दिएको हो । अब यो माटोको सम्मान गर्दै मैले पाँच वर्ष धनगढीलाई निःस्वार्थ सेवा दिने योजना बनाएको छु’ उनले भने ।



मेयर पद घोषणा कार्यक्रमा धनगढीका सयौँ सर्वसाधारणको सहभागिता रहेको थियो । हमालले धनगढीमा गरिवी, असहायलाई लक्षित गरी कपडा बैंक र निःशुल्क शव वाहन सञ्चालनमा ल्याएका छन् ।



यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहेका उनी सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन् । २०७४ को निर्वाचनमा पनि उनको स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

जहाँ नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड निर्वाचित हुँदा उनी निकटतम प्रतिस्पर्धी बनेका थिए ।

हालका मेयर धनगढीका मेयर वडले १४ हजार ३ सय २४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहे ।

बिहीबार घोषणा सभामा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले ‘धनगढी मोडल’ स्थापित गर्ने हमालको सपना पूरा गर्न निःशुल्क रूपमा साझेदारी गर्ने बताए ।

‘गोपाल हमालको अभियानलाई धनगढीवासीले सफल पार्नु हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘उहाँको जित भए देशभरी नै नयाँ र सकारात्मक सन्देश जान्छ ।’

हमालले कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दा आफ्नो कार्यकाल (२०६३–६६)मा संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए ।

दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन् ।

सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले सुन्दर सुदूरपश्चिम अभियान थालेका थिए ।

हमालको मेयर पद घोषणा कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्धराज पनेरु, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरे ।

उनीहरु यस अघि सबै विवेकशील साझा पार्टीमा आवद्ध रहेका थिए । बैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १३:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया