राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ : डा.लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा‍. प्रकाशचन्द्र लोहनीले ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् ।

‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ,’ डा. लोहनीले राप्रपाको केन्द्रीय कार्य समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै भने ।

‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरिरहेका छन् । राष्ट्रवादी, प्रजातान्त्रिक छवि भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन्,’ राप्रपा नेता लोहनीले भने ।

‘यो लहर, लहरले दिएको शक्ति सदा उपलब्ध नहुन सक्छ । त्यसकारण समयले दिएको शक्तिलाई साथ लिएर यसभन्दा माथि उठ्ने प्रयास गर्नु पर्दछ । यो अवस्था आन्तरिक सुक्षबुझ, एकता र आन्तरिक व्यवस्थापनबाट प्राप्त हुन्छ,’ उनले भने, ‘विधान र प्रक्रियाले दिएको शक्तिबाट अघि बढ्नुपर्छ ।’

लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए । ‘वातावरण हाम्रो पक्षमा छ,’ उनले भने ।

राप्रपाको केन्द्रीय कार्य समितिको बैठक फागुन १८ र १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १७:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया