अन्तिम खेलमा चितवनसँग हार्याे पोखरा, दुवै टिम लिगबाटै बाहिरिए

काठमाडौं– कीर्तिपुरको त्रिवि मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले लगातार पाँचौ खेल गुमाएको छ । शनिबारको खेलमा पोखरा चितवन टाइगरसँग ७ विकेटले पराजित भयो । 

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । १ सय ३० रनको विजयी लक्ष्य लिएर मैदान छिरेको चितवनले ६ बल बाँकी हुँदा लक्ष्य पूरा गर्यो । जित दिलाउने क्रममा चितवनका पल स्टर्लिङ र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । 

स्टर्लिङले ४६ बलमा ५ छक्का र २ छक्काको सहयोगमा ५५ रन बटुले भने, ऐरीले ५ चौका र २ छक्का प्रहार गर्दै नटआउट ५४ रन बनाए । यस्तै, चितवनका सन्दीप सुनारले १० तथा जोन सिम्प्सनले ९ र जर्ज स्कटले नटआउट ३ रन जोडे । 

चितवनको ३ विकेट खसाल्ने क्रममा पोखराका नन्दन यादवले २ तथा सुसन भारीले १ विकेट लिए । 

यसअघि, पोखराले सामान्य सुरुवात गरेको थियो । पोखराका सुनील धमलाले अर्धशतक बनाए पनि जित भने दिलाउन सकेनन् । ४२ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको सहयोगमा ५१ रन जोडेका थिए । 

यस्तै, पोखराका कायल कोट्जरले २३, विनोद भन्डारीले २७ तथा राजेश पुलामी मगरले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 



पोखराको ५ विकेट लिने क्रममा चितवनका जर्ज स्कटले ३ तथा ललित भन्डारीले २ विकेट लिए । 

यससँगै, पहिलो चरणका पाँचै खेल खेलेका चितवन र पोखरा दुवै टिम लिगबाट बाहिरिएका छन् । 



  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १८:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया