काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनको पूरकका रुपमा छुट्टै प्रतिवेदन पेस गरेका छन् । गौतमको पूरक प्रतिवेदनको बचाउ गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउन सहयोग पुर्याउने उद्देश्यले गौतमले बैठकमा थप प्रस्ताव पेस गरेको बताए ।
अध्यक्षको प्रतिवेदन आठवटा उपखण्डमा आधारित रहेर तयार गरिएको छ । जसमा पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलको भूमिका, केन्द्रीय सचिवालयको निर्णयको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको थियो ।
‘पार्टीको सांगठनिक एकीकरणको अहिलेसम्मको अवस्था र अब गर्नुपर्ने कामका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ,’ उनले भने, ‘सरकार सञ्चालनको नौ महिनाको अवधिमा सरकारले गरेका काम कारबाहीका बारेमा समीक्षा र अब सरकारले गर्नुपर्ने कार्यदिशाका रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।’
प्रतिवेदनमा राष्ट्रिय राजनीतिबारे व्याख्या गरिएको छ । त्यस्तै, राजनीतिक दलको भूमिकाका बारेमासमेत अध्यक्षले पेस गरेको प्रतिवेदनमा चर्चा गरिएको उनले बताए । प्रवक्ता श्रेष्ठले केन्द्रीय सचिवालयले यसअघि गरेको निर्णयको अनुमोदनका लागि प्रस्ताव गरिएको जानकारी दिए । उहाँले भने, ‘पार्टी आन्तरिक जीवनका बारेमा पनि प्रतिवेदनमा एउटै छुट्टै अंश तयार पारिएको छ ।’
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशको राजनीतिक परिस्थिति र स्थायी कमिटी बैठकको औचित्यका बारेमा धारणा राखेका थिए । अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि प्रकाश पारेका थिए ।
अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसर प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभूतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मक रुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभारा पूरा गर्न सामूहिक ढंगले पहल गर्नुपर्नेमा जोड दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
त्यस्तै, बैठकले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकाप्रति गम्भीर दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
बैठकले केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागमा भएका सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ती घटनाका मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।
अध्यक्ष र नेता गौतमले पेस गरेको प्रतिवेदनमाथि थप छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धम्बाराहीमा बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।