के दूधमा अब कोलीफर्म छैन? हिजो अखाद्य दूध आज के भए? कसले दिने सूचना?

काठमाडौं– गत जेठ २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल दूध उत्पादन केन्द्रमा छापा मार्न निस्किएको खबर सर्वत्र छायो । मन्त्रीसहितको टोलीले छापा मार्दा दूधमा अखाद्य तत्व (कोलिफर्म) भेटिएको खबर सार्वजनिक भयो । 

मन्त्री टोलीको अनुगमनमा ३३ वटा कम्पनीले उत्पादन गर्ने दूधमा कोलिफर्म भेटिएको थियो ।

दूधमा कोलिफर्म भेटिएको विषय सार्वजनिक गरे पनि कोलिफर्म भेटिएका दूध उपभोक्ताले प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा भने सरकारले कुनै जानकारी दिएन । कोलिफर्म भेटिएका दूध उत्पादक कम्पनीलाई सरकारले कारबाही गर्यो कि गरेन भन्ने विषयमा पनि उपभोक्तालाई कुनै जानकारी छैन ।

सञ्चारमाध्यममा कोलिफर्म भेटिएका दूध कम्पनी बन्द गर्नेसम्मका समाचार सार्वजनिक भए पनि कोलिफर्म भेटिएका दूध कम्पनी बन्द भएनन् । उल्टै, पछिल्लो दिनदेखि नै कोलिफर्म भेटिएको भनिएका दूध बजारमा उपलब्ध थिए । 

दूधमा कोलिफर्म भेटिएको खबर आएपछि दूध उपभोग गर्ने कि नगर्ने अन्योल उपभोक्तामा रहिरह्यो ।

सरकारले दूधमा कोलिफर्म भेटिएको पुष्टि गरेपछि पनि कोलिफर्म भेटिएको दूध बजारमा जान रोक लगाएन । सम्बन्धित निकायले बजारमा पठाउन रोक नलगाएपछि कम्पनीले दूध उत्पादन तथा बिक्रीवितरण जारी नै राखे । 



दूधमा कोलिफर्म भेटिएको विषयलाई ठूलो चर्चाको विषय बनाएको सरकारले त्यो दूध प्रयोग गर्ने या नगर्ने भन्ने विषयलाई भने गौण बनायो । दूधमा कोलिफर्म भेटियो भनेर सरकारले उपभोक्तालाई त्रसित मात्रै बनायो । कुन दूध उपभोग गर्ने, कुन नगर्ने भन्नेमा सचेत भने गराएन ।

कोलिफर्म भेटिएको कुरा सेलाएसँगै दूधको प्रयोग पनि सामान्य बन्यो । कुन दूध खाने, कुन नखाने भन्ने सूचना नै नपाएपछि उपभोक्ताले पनि बजारमा भेटिएको जुनसुकै दूध उपभोग गर्न थाले । 



कोलिफर्म भेटिएका कम्पनीका दूधबाट कोलिफर्मको मात्रा घट्यो या घटेन भन्ने जानकारी नै नपाएपछि उपभोक्तासँग उपभोग गर्नुबाहेक अर्को विकल्प रहेन ।

सरकारले दूधमा कोलिफर्म भेटिएको सूचना जोडतोडका साथ उठाए पनि त्यसपछि के भयो भन्ने सूचना नदिने गरेको गुनासो गर्छन्, उपभोक्ता अधिकारकर्मी ।

उपभोक्त हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाई दूधमा कोलिफर्म भेटिएको सूचना पाए पनि त्यो दूध उपभोगयोग्य छ वा छैन भन्ने सूचना नपाएको बताउँछन् । उनी भन्छन्, ‘सरकारले दूधमा कोलिफर्म भेटिएको सूचना त दियो, तर त्यस्तो दूध कहिलेदेखि खाने वा कसरी खाने भनेर सूचना दिएन ।’

त्रसित बनाउने सूचना भने जोडतोडका साथ उठाउने तर सचेत बनाउने सूचना जारी नगर्ने सरकारको रबैयालाई राजनीतिक स्टन्टको रुपमा अथ्र्याउँछन् हुमागाई ।

सरकारले आफूलाई सक्रिय देखाउने नाममा उपभोक्तालाई आवश्यक सूचना नदिएर भ्रममा पारेको उनी बताउँछन् । ‘दूधमा कोलिफर्म भएको सूचना पनि दिने, फेरि त्यही दूध बजारमा जताततै पाइने, यो कुरा मिलेन,’ हुमागाई भन्छन्, ‘यसबाट सरकारले उपभोक्तालाई भ्रममा पारेको प्रस्ट हुन्छ ।’ 

प्रत्येकपटक सरकार फेरिँदा वा मन्त्री फेरिँदा विभिन्न खाद्यवस्तुको अनुगमनको नाममा उपभोक्तालाई त्रसित मात्रै बनाइने गरेको उनको आरोप छ । 

कुनै खाद्यवस्तुमा अखाद्य वस्तु मिसावट भएको सूचना आइसकेपछि फेरि बजारमा त्यही वस्तु भेटिँदा त्यसबाट अखाद्य वस्तु हट्यो या हटेन भन्ने जानकारी उपभोक्तालाई दिइनुपर्नेमा दिन्छन् उपभोक्ता अधिकारकर्मी । 

महासचिव हुमागाई यसलाई सूचनाको हक र खाद्यको हकसँग पनि जोड्छन् । ‘उपभोक्ताले आफूले प्रयोग गर्ने खाद्यवस्तुमा के–के वस्तुको मिसावट भएको छ, सबै जानकारी पाउनुपर्छ,’ उनी भन्छन् ।

अखाद्य तत्व भेटिएको सूचना मात्रै दिई त्यस्ता उत्पादनलाई नष्ट नगरेर उपभोक्ताको स्वास्थ्यमा सरकारले पनि खेलबाड गरेको हुमागाई बताउँछन् । अखाद्य तत्व भेटिएका उत्पादन नै बजारमा भेटिँदा पनि ती वस्तुको यथार्थ जानकारी नदिएर उपभोक्तालाई सरकारले नै ठगेको उनको आरोप छ ।

‘यदि अखाद्य तत्व भेटिएको हो भने उत्पादनलाई तुरुन्त नस्ट गर्नुपर्छ र फेरि सच्चिएर सञ्चालनमा आएको हो भने सर्वसाधारणलाई जानकारी दिनुपर्छ,’ उनी भन्छन्, ‘होइन भने त यो उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र ठग्ने काम भयो ।’

उपभोक्ता मात्रै होइन, उपभोक्ता अधिकारकर्मीले समेत सूचना नपाएको बताइरहँदा सरकार भने समयमै सूचना दिएको दाबी गर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कृषी तथा पशुपन्छी विकास मन्त्रालयले भने आफूहरुले सूचना निकालेको दाबी गर्दै आएका छन् ।

मन्त्रालय र विभागको दस्ताबेजअनुसार असार १० गते दूधमा कोलिफर्म भेटिएको विषयमा एउटा सूचना जारी गरिएको छ । जारी सूचना सरकारी सञ्चारमाध्यममा प्रकाशन र प्रसारण गरेको पनि मन्त्रालय बताउँछ ।

सरकारले जारी गरेको उक्त सूचना सरकारको आफ्नै नीतिविपरीत छ । सरकारले दूधमा शून्य कोलिफर्मको नीति लिएको भए पनि सूचनामा भने कोलिफर्म भेटिएको दूध उमालेर पिउन सकिने उल्लेख गरेको छ ।

धेरैजसो उपभोक्ताले दूध उमालेरै खाने गरेकाले कोलिफर्म भेटिए पनि उमालेर खाँदा केही हानि नहुने देखिएकाले यस्तो सूचना जारी गरेको बताउँछन्, विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती ।

मन्त्रालयले जारी गरेको सूचनामा खाद्य ऐनअनुसार कारबाहीको प्रक्रिया सुरु गरिए पनि उद्योग नै बन्द गर्ने काम भने नभएको उनी बताउँछन् । ‘अलिकता कोलिफर्मले उपभोक्ताको हितमा त्यति धेरै हानि नगर्ने हुनाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था नदेखेर हामीले उद्योग बन्द गर्न आदेश भने दिएनौँ,’ प्रवक्ता वस्तीले भने ।

दूधमा कोलिफर्म भेटिएको सूचनालाई जोडतोडका साथ उठाउने मन्त्रालय र विभागले दूध उपभोग गर्न सकिने सूचना भने औपचारिकताका लागि मात्रै जारी गरेजस्तो गरे ।

आफ्नै नीतिविपरीत गएर कोलिफर्म भएको दूध उमालेर खाऊ भन्ने सरकारले उपभोक्तालाई भ्रममा पार्यो ।

दूध उपभोग गर्न सकिने सूचना उपभोक्तासम्म नपुगेको कुरा विभाग पनि स्विकार्छ । विभाग र मन्त्रालयले जारी गरेको सूचना सरकारी सञ्चारमाध्यममा मात्र सीमित हुँदा उपभोक्तासम्म नपुगेको बताउँछन्, प्रवक्ता वस्ती । उनी भन्छन्, ‘हामीले दूध उमालेर खान सूचना दिएका थियौँ । तर, त्यो सूचनाले सरकारीबाहेक निजी सञ्चारमाध्यममा प्रमुख स्थान पाएनन् ।’

केही दिनअघि मात्रै सौन्दर्य सामग्रीमा पनि हानिकारक केमिकल प्रयोग भएको खबर सार्वजनिक भएको थियो । गुणस्तर तथा नापतौल विभागले ६६ ब्रान्डका सौन्दर्यका सामग्री परीक्षण गर्दा अधिक रसायन भेटिएको खबर दिएर फेरि उपभोक्तालाई त्रसित बनायो । 

सौन्दर्य सामग्रीमा डब्लुएचओको मापदण्डभन्दा धेरै मात्रामा  हानिकारक रसायन पाइएको भने पनि यसको प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा विभाग अहिले पनि मौन छ ।  

खाद्यवस्तु र सौन्दर्य सामग्रीमा प्रयोग हुने यस्ता तत्वले मानव स्वास्थ्यमा हानि पुग्छ भन्ने पुष्टि भइसकेपछि पनि किन यस्ता समग्री बजारमा भेटिन्छन् ? सरकारसँगै  छैन जवाफ ।

  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १९:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया