महाधिवेशनपछि माओवादीको दोस्रो केन्द्रीय कमिटी बैठक : पदाधिकारीको टुंगो लाग्ला ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । पार्टीको ११ पुसदेखि १८ सम्म चलेको आठौं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचित गरेको थियो । त्यसपछि बोलाइएको पटक पटकको बैठक कोभिड-१९ लाई कारण बनाई स्थगित भएको थियो । 

माओवादीले पदाधिकारी र केन्द्रीय कमिटी अझै टुंगो लगाइसकेको छैन । पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्षपछिका १४ जना पदाधिकारीको टुंगो लगाउने माओवादीले बताएको थियो । 

विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाअनुसार माओवादी अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ । महासचिव लगायतका पदमा शीर्ष नेताहरूको आकांक्षा बढेपछि प्रचण्डलाई पदाधिकारी चयन गर्न चुनौती थपिएको छ । 

केन्द्रीय सदस्यमात्र चयन गरेर सकिएको महाधिवेशनपछि आज बसेको केन्द्रीय कमिटी बैठकमा एमसिसी, संगठनात्मक काम, कार्यविभाजन लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।

पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीबारे निर्णय गर्ने कार्यसूची माओवादीले यो बैठकमा अघि सारेको छ । 

यद्यपि एमसिसी संसदबाट अनुमोदन भएपछि केन्द्रीय कमिटीको छलफल भने त्यतातर्फ नै बढी केन्द्रित भएको छ । 



नेता नारायणकाजी श्रेष्ठले एमसिसी पारित भएको दिनलाई कालो दिनको रूपमा घोषणा गरिरहँदा प्रचण्ड भने आफ्नो एमसिसीको पक्षमा लाग्नुपर्ने तर्कसहित केन्द्रीय कमिटीमा प्रस्तुत भएका छन् । 

नेता श्रेष्ठलगायत प्रचण्डको व्यवहारसँग असन्तुष्ट नेताहरूले लिखित असन्तुष्टि बैठकमा पनि राख्ने तयारी भएको बुझिएको छ । आगामी निर्वाचन, सत्ता गठबन्धन र एमसिसी लगायतका मुद्दामा बैठक केन्द्रित भएसँगै अहिले नै पदाधिकारी चयनको विषय थाति रहनसक्ने निकटस्थ नेताहरूको बुझाइ छ ।



माओवादी केन्द्रले ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि अध्यक्ष मात्र बनाएर बाँकी केन्द्रीय सदस्यको हैसियतमा चुनावमा होमिएका थिए । 

पदाधिकारी चयनको विषय पेचिलो बन्दै गएको बेलामा एमसिसीको विषयले थप गिजोलेका कारण अहिले नै माओवादीले पदाधिकारी र केन्द्रीय कमिटीको थप संख्या पूर्ति गर्ने देखिँदैन ।

  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १७:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया