‘शक्ति : द पावर’को बिदाइ
शक्तिजति मेहनती कोही देखेको छैन – पारस

काठमाडौ‌– क्रिकेटर शक्ति गौचनले १८ वर्षे खेलजीवनबाट संन्यास लिएका छन् । 

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न जानुअघि गत साउनमा संन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । 

त्यतिवेला गौचनले नेपाली दर्शकमाझ नेपालमै बिदाइ खेल खेल्ने इच्छा व्यक्त गरेका थिए । सोहीअनुरुप, जारी इपिएलमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध अन्तिम खेल खेल्दै शक्तिले क्रिकेटबाट संन्यास लिएका हुन् । 

बिदाइ हुने वेला शक्ति निकै भावुक देखिए । पत्रकारसँग कुरा गर्दै उनले अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए । ‘टी–२० विश्वकपदेखि एकदिवसीयसम्म हरेक ठूला प्रतियोगिता सधैँ मेरो स्मरणमा रहिरहनेछ,’ शक्तिले भने, ‘हरेक समय हामीले एकअर्कालाई सहयोग गरेर राम्रो क्रिकेट खेल्ने प्रयास गरिरह्यौँ । ती हरेक कुरा मलाई याद आइरहनेछन् ।’ 

सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको अभिन्न अंग हुन् । नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थिति बलियो देखाएका छन् । सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा गरेको प्रदर्शनलाई लिएर उनले  ‘शक्ति : द पावर’को उपमा पाएका थिए । 

सन् २०१० को एसियन गेम्सदेखि करिब डेढ वर्ष टोलीमा नपरेका शक्तिले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए । सन् २०१२ मा भएको आइसिसी टी–२० विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका थिए । उनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिकसमेत गरेका थिए । अन्न्तर्राष्ट्रिय क्रिकेट ह्याट्रिक गर्ने नेपाली खेलाडी उनी मात्र हुन् । 



सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन ४ मा १० विकेट हात पारे । डिभिजन ४ अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । 

सन् २००१ मा यू–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दी म्याच भएका छन् । सिनियर अन्तर्राष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सूचीमा शक्तिको पनि नाम छ । 



भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए । 

शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका छन् । शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् । ‘शक्ति एकदमै उत्कृष्ट खेलाडी हुन्,’ राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, ‘उनी सिनियर क्रिकेटर हुन् । शक्तिले धेरै उदाहरणीय काम गरेका छन् । मैले चिनेका क्रिकेटरहरुमा शक्तिजति मेहनती कोही देखेको छैन ।’  

  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १९:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया