काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धनी बन्न विदेश जान नपर्ने र घुस खान पनि नपर्ने बताएका छन् ।
राजधानीमा शनिबार आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।’
जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै गभर्नर डा. नेपालले अरुलाई जागिर दिने मान्छे बन्नु आजको आवश्यकता रहेको बताए ।
‘व्यापार भनेको नयाँ अन्वेषण र योजना हो,’ उनले भने, ‘व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब घरबाटै आविष्कारीय र व्यापारिक योजना सुरु गर्नुपर्छ ।’
मुलुक विभिन्न कानुन निर्माणको चरणमा रहेका वेला व्यापार गर्ने वातावरण झन् राम्रो रहेको भन्दै गभर्नर डा. नेपालले अर्थशास्त्रको सिद्धान्तलाई नेपालीले बुझ्न नसक्नु सबैभन्दा ठूलो समस्या भएको उल्लेख गरे ।
नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्प आचार्यले शासन परिवर्तनले मात्रै देश समृद्धि नहुने भन्दै समृद्धिका लागि मुलुकमा उद्यमशीलताको विकास जरुरी रहेको औँल्याए ।
युवा उद्यमशीलताका उत्प्रेरक आकाश श्रेष्ठ, नरोत्तम अर्याल तथा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीले समृद्ध नेपाल निर्माणका लागि मुलुकमा व्यापार, व्यवसायको विकास तथा विस्तार हुनुपर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।