अस्ट्रेलियन लिजेन्डरी स्पिनर शेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्पिनर वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका हुन् ।
५२ वर्षीय वार्न शुक्रबार थाइल्याण्डमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अस्ट्रेलियावासी निकै दुःखी भएको बताए ।
विश्वकै महान क्रिकेटरमध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अस्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।
‘वार्नको राष्ट्रिय उपलब्धिलाई ध्यानमा राख्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यो वार्नको परिवारसँग परामर्श गरेर गरिनेछ’, उनले भने ।
वार्नलाई सम्झिँदै मोरिसनले वार्न अष्ट्रेलियाका महान व्यक्तिहरूमध्ये एक भएको बताए ।
यसैबीच, वार्नको सम्मानमा अस्ट्रेलियन क्रिकेट बोर्डले मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको ग्रेट सदर्न स्ट्यान्डको नाम वार्नको नाममा राख्ने भएको छ ।
शनिबार उनको सम्मानमा मेलबर्न क्रिकेट मैदान (एमसिजी)मा स्ट्यान्ड नामकरण गर्ने निर्णय गरेको हो । भिक्टोरिया राज्यका पर्यटन तथा खेलकुद मन्त्री मार्टिन पकुलाले ग्रेट सदर्न स्ट्यान्डको नाम एसके वार्न स्ट्यान्डको रूपमा परिवर्तन गर्ने बताए ।
विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अस्ट्रेलियाका लागि १४५ टेस्ट र १९४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
उनले टेस्टमा ७०८ विकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा २९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलंका स्पिनर मुथैया मुरलीधरन (८ सय विकेट ) पछि सर्वाधिक विकेट लिने बलर हुन्
सन् १९९९ मा अस्ट्रेलियालाई विश्वकप जिताउन उनले उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए । वार्नले सन् १९९२ मा भारतविरुद्ध पहिलाे र २००७ मा इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए।
उनले सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध पहिलाे र सन् २००५ मा एसिया-११ विरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।