कांग्रेस शीर्ष नेताहरूको दाबी : आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउँछौँ
मंसिरअघि नै संघीय संसदको चुनाव हुन सक्ने

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताले मंसिरअघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिरअघि नै संघीय संसदको चुनाव गर्ने बताएका हुन् ।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सुचारु नहुने हो भने चाँडै संघीय संसदको निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताए ।

उनले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गरे ।

‘मैले त प्रधानमन्त्रीलाई भनि सके–चाँडै संसद सूचारु गर्नु पर्यो वा चाँडै संसद ल्याउनुपर्यो । अब यस्तो अलमलमा राख्नु हुँदैन देशलाई । म सबैलाई के भन्न चाहन्छु भने–एमसीसी पास गरिएको छ । यसले मुलुकको विकास र समृद्धिले फड्को मार्नेछ । तर नेपाली जनतालाई यसबारे बुझाउन सक्नुपर्दछ’ उनले भने ।

महामन्त्री थापाले एमालेले संसद चल्न दिएन भने मंसिरअघि नै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शान्दार ढंगले चलाउने बताए । उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताए ।



‘बैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने हो । त्यसपछि आम चुनाव हुन्छ । एमालेले संसद चल्न दिएन भने मंसिरअघि नै चुनाव हुन सक्छ । हामी निर्वाचनमा जाने हो । शान्दार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो’ उनले भने ।

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको उल्लेख गर्दै एक्लै निर्वाचनमा लडने संकेत गरे । प्रचण्ड, माधव नेपाललाई चमेराको संज्ञा दिँदै उनले उनीहरुले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने बताए ।



‘यो चुनावी वर्ष हो । यो चुनावी मैदानमा कांग्रेस रूपी हात्ती लम्कदै गर्दाखेरी हात्तिको ठूलो कान देखेर चमेराहरु ओत लाग्न खोज्दैछन । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन भन्ने कुरा हामीलाई राम्रैसँग थाहा छ । चमेराले हात्तिलाई सहयोग गर्न सक्दैन । दुर्गन्धित बनाउन सक्दछ, हात्तीको कानमा । त्यसैले हाम्रो रोडम्याप एकदम स्पष्ट छ । यही रोडम्याप अनुसार नेपाली कांग्रेस रूपी हात्ती अगाडि बढछ । मुसाले बोटो काट्दैमा केही फरक पर्दैन’ उनले भने ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित कांग्रेस नै मुलुकको भरोसा भएको दावी गरे । उनले मुलुकको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढने संकल्प पनि गरे ।

‘रुपान्तरिक भएको कांग्रेस मुलुकको भविष्य हो । यही पुरानो कांग्रेसलाई रुपान्तरित गरेर मुलुकलाई विकल्प दिने हो । किनभने कांग्रेस नै मुलुकको भरोसा हो’ उनले भने ।

कांग्रेस महामन्त्री शर्माले लोकतन्त्रको सवाल, मुलुकको विकास र समृद्धिको सवालमा काँग्रेस एकतावद्ध भएर अघि बढछ भन्ने कुरा संसदबाट पारित गरिएको एमसीसीले पनि देखाएको स्मरण गराए । उनले गुटको पछि लागेर पार्टीलाई कमजोर बनाउन काम गर्न नहुने पनि बताए ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १६:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया