चुनावसम्म टिक्ला सत्ता गठबन्धन ?
फाइल तस्वीर

लगभग ‘कोमा’मा पुगिसकेको सत्तारुढ गठबन्धन तत्काललाई जोगिएको आम बुझाइ छ । अमेरिकी बहुचर्चित सहायता परियोजना एमसिसीकै कारण सत्तारुढ गठबन्धन विभाजनको डिलमा पुगेको थियो ।

तर, अन्तिम समयमा एमसिसीको विरोध गरिरहेको माओवादी केन्द्र, नेकपा एकीकृत समावजवादी र जसपाको ‘यू टर्न’ले तत्काललाई गठबन्धन टुट्ने खतराबाट बचेको हो ।

एमसिसी संसदबाट ध्वनि मतका साथ पारित भएपछि त्यसका क्रिया–प्रतिक्रियाहरु विभिन्न आइरहेका छन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा त यसले ठूलै परकम्प निम्त्याएको छ । केही समयअिघ मात्र एमाले फुटेर बनेको नेकपा एसभित्र पनि एमसिसीको प्रभाव देखिएको छ ।

यता, सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस भने एमसिसी पारित गराएसँगै अब निर्वाचनतिर केन्द्रीत भएको छ । गठबन्धनका शीर्षस्थ नेताहरूले गठबन्धन आसन्न तीनै तहको निर्वाचनसम्म कायम रहने दाबी गरिरहेका छन ।

तर, कांग्रेसभित्र निर्वाचनमा कसरी जाने ? भन्ने विषयमा मत बाझिँदै जाँदा अब गठबन्धन चुनावसम्मे टिक्ला कि नटिक्ला भन्ने प्रश्न उब्जन थालेका छन ।

गठबन्धन जोगाएरै छाड्ने प्रचण्ड–माधव नीति



सडकमा समेत एमसिसीमा चर्को विरोध जनाएको माओवादी केन्द्र र नेकपा एस एकाएक एमसिसीको विषयमा अन्तिम समयमा नरम भएका थिए ।

एमसिसी पारित नभए गठबन्धन नै टुट्ने र देश दुर्घटनातर्फ जाने भएपछि आफूहरुले एमसिसीबारे ‘व्याख्यात्म घोषणा’ सहितको विकल्पमा गएको प्रचण्ड र माधव नेपालले स्वीकारिसकेका छन ।



शुक्रबारबाट सुरु भएको माओवादी केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्डले सोही कुराको ब्रिफिङ गरे ।

उनले केन्द्रीय सदस्यमाझ भनेका छन्, ‘एमसिसी अनुमोदनपछि सत्ता गठबन्धनलाई कसरी चुनावसम्म लैजाने भनेर हामी छलफल गरिरहेका छौँ । सकेसम्म यो गठबन्धन चुनावसम्मै लैजाने हाम्रो प्रयास हो ।’

उनको यो भनाइबाट प्रष्ट हुन्छ कि कुनै हालतमा माओवादी गठबन्धनमार्फत नै चुनावमा जाने तयारीमा छ ।

यसअघि ०७४ सालको निर्वाचनमा पनि प्रचण्डले एमालेसँग गठबन्धन गरेर चुनावमा होमिएका थिए । तर, कांग्रेसका नेताहरूमा मत विभाजन हुँदा कम्युनिस्टहरूसँग एक भएर निर्वाचनमा जाने/नजाने भन्नेबारे अन्यौल कायमै छ ।

उता, भर्खरै केपी ओलीसँग राजनीतिक डिभोर्स गरेर नयाँ दल बनाएका माधव नेपाललाई पनि गठबन्धन जोगाइराख्ने चुनौती छ । सत्तामै भएको खण्डमा केही निर्वाचन क्षेत्रमा पकड बनाउनेगरी जान सकिने नेपालको आंकलन छ ।

सोही अनुरूप एमसिसीको विषयलाई समेत खुट्टाले कुल्चेर गठबन्धन जोगाउन नेपाल सहमत भएका थिए । एमसिसी पारित भएपछि असन्तुष्ट देखिएका झलनाथ खनाललाई पनि नेपालले चुनाव नजिकिँर्दै गएको विषयलाई लिएर किन्भिन्सको प्रयास गरिरहेका छन ।

कांग्रेस के गर्ला ?

पार्टीको १४ औं महाधिवेशनबाट सभापति बनेका प्रधानमन्त्री शेरबहादुर देउवा पर्ख र हेर नीतिमा छन् । एमसिसीको विषयमा किचलो बढ्दै जाँदा उनले एमाले र सत्तारुढ अन्य घटकसँग समानान्तर दूरी बढाएका थिए ।

अब चुनावमा कसरी सहकार्य गर्ने ? भन्नेबारे पनि देउवाले आन्तरिक छलफल सुरु गरिसकेका छन् । पार्टीभित्र बहुमत शीर्ष नेताहरू गठबन्धनभन्दा पनि एक्लै चुनावमा भिड्नपर्ने तर्क गरिरहेका छन् । जसले देउवालाई प्रचण्ड र माधव नेपालसँग चुनावी सहकार्य गर्नेबारेमा निर्णय लिन अप्ठेरो परेको छ ।

एमसिसी विवादमा ‘डबल स्ट्यान्डर्ड’ छाड्न चुनौती दिँदै प्रचण्ड र माधवलाई फकाएको कांग्रेस चुनावमा के गर्छ ? भन्ने हेर्न बाँकी छ ।

एमाले नीति

उता, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि चुनावी सरगर्मीमा होमिइसकेको छ । एमाले अध्यक्ष ओली चुनाव केन्द्रीत देशदौडामा लागिसेकेका छन् ।

ओलीले शनिबारमात्रै प्रदेश १ को प्रेस चौतारीको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र आफूहरूको तालमेल आगामी निर्वाचनमा हुने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘अहिलेको गठबन्धनका पाँच घटकमध्ये कांग्रेस पनि एक हो । वर्तमान गठबन्धनमध्ये कसैले पनि आउँदो निर्वाचनमा एकालेसँग एक्लै मैदानमा आउने आँट गर्न सक्दैन ।’

उनले कांग्रेस अहिले दक्षिणपन्थीको वैशाखी टेकेको र यो दुःखद भएको समेत टिप्पणी गर्न भ्याए ।

सकेसम्म आगामी निर्वाचनमा कांग्रेससँग मिलेर माधव नेपाल र प्रचण्डलाई समेत अप्ठेरो पार्नेगरीको नीतिमा ओली अघि बढ्नसक्ने संकेत उनका यी भनाईले पुष्टि गर्छन ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १८:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया