राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसिसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे ।
उनले विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथिनै प्रश्न उठनेगरी राजनीतिक दलहरूका नेताहरूलाई दबाब दिइरहेको दाबीसमेत गरे । त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाइ थियो ।
'नेपालले अनुदान लिने वा नलिने भन्नेकुरा हामीले निर्णय गर्ने कुरा हो । देशलाई हित हुन्छ भने लिन्छौं, हुँदैन भने हामी लिँदैनौं । तर विदेशी शक्तिको दवाव र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरुलाई परिरहेको छ । यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भिर प्रश्न खडा भएको छ’ उनले भने ।
अध्यक्ष नेपालले विदेशी सहायता लिने/नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप गरिरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।