काठमाडौं– पुस महिनाको पहिलो बिहान । चिसोले ढाकिएको उपत्यका ब्युँझने क्रममा छ । माइतीघर मण्डला चोकमा फरफराइरहेको नेपालको झन्डामा परेका सूर्यका किरणले झन्डा आकर्षक देखिएको छ ।
त्यही झन्डाको मुनि चिसो भुइँमा लहरै बसेका छन् ६ जना । चिसोले थरथर काँप्दै बसिरहेका उनीहरूको अगाडि जुत्ता र बैसाखी छन् । वरीपरि पम्पलेट छरिएका छन् । नजिकै एउटा ब्यानर छ, जसमा लेखिएको छ– ‘जनयुद्धमा घाइते तथा अपांगता भएका व्यक्तिको अनिश्चितकालीन आमरण अनशन’ ।
गत मंसिर २७ गतेदेखि जनयुद्धका घाइतेहरू चिसो भुइँमा यसरी नै बसिरहेका छन् । माइतीघरमा अनशनरत तत्कालीन माओवादीका पूर्वलडाकूहरूमध्ये कसैको खुट्टामा त कसैको आँखामा गोलीको छर्रा अझै बाँकी छ । कोही खुट्टामा फलामे रड राखेर बैसाखीको सहारामा हिँडिरहेका छन् त कोही पेटमा गोली बोकेर बाँचिरहेका छन् ।
उपचार खर्च, भत्ता र रोजगारीको माग राखेका यी लडाकुले सरकारसँग वार्ता पनि गरेका थिए । तर, सरकारले उनीहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि उनीहरू अनशनमा बसेका हुन् ।
अनशनमा रहेका संग्रामे सार्की ‘रणदीप’ भन्छन्, ‘उपचार गर्दागर्दै घरबार सबै बेचियो । अब बाँकी केही छैन । सरकारले उपचार खर्च दिएन भने हामी यहीँ सुकेर मर्न तयार छौं ।’
युद्धको सयमा नेतालाई बचाउन आफ्नो छातीमा गोली थापेको बताउने उनीहरू अहिले तिनै नेताले आफूलाई बेवास्ता गरेपछि सडकको बास भएको बताउँछन् । ‘पढ्ने बेलामा युद्धमा हिँडियो, अहिले काम गरेर पैसा कमाउन सकिँदैन, सरकारले पनि वास्ता गर्दैन,’ अनशनमा रहेका नरवीर दमाई ‘विमर्श’ले सुनाए ।
अनशनमा रहेका ‘शंकर’ बिरामी
चार दिनदेखि अनशनमा रहेका मंगलसिंह प्रजा ‘शंकर’को स्वास्थ अवस्था कमजोर भएको छ । तत्कालीन माओवादी जनमुक्ति सेनाको चौथो डिभिजनका लडाकु शंकरको खुट्टा र छातीमा गोलीका छर्रा छन् । दुई सन्तानका पिता शंकर भन्छन्, ‘सरकारले मेरा छोराछोरी पाल्देओस्, म यहीँ मर्छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।