संसद अवरोध र अर्ली इलेक्सनबारे सांसदहरूले के भने ?

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकारमाथि खेलवाड भएको बताएका हुन् ।

उनले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।

‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो,' उनले भने, 'किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो ।'

त्यस्तै, संसद भवनमै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपालले संसद निरन्तर अवरोध हुने भए संसद भंग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरे ।

संसद चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डालाई सामना गर्नका लागि संसद भंग गर्नुपर्ने बताए । संसद भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ ।



‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने,' उनले भने, 'त्यस्तो हो भने त्यो भन्दा पहिले पूरै संसदले नै अब केपी ओलीको वितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने । न संसद रहन्छ । न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्ली इलेक्सनमा जाने भन्ने कुरा आफूलाई थाहा नभएको टिप्पणी गरे । उनले वर्तमान सरकार पूरा अवधिसम्म रहने र संसदको अवधि समाप्त भएपछि मात्रै चुनाव हुने बताए ।



‘खोई मलाइ त थाहा भएन अर्ली इलेक्सनमा जान्छ भनेर, मलाई थाहा भएको कुरा के हो भने पुरै अवधिसम्म यो सरकार रहन्छ । संसदको अवधि समाप्त भएपछि चुनाव हुन्छ,’ उनले भने ।

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्ली इलेक्सनको सम्भावना नभएको बताए । वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्ली इलेक्सन गर्ने समय नहुने उनले बताए ।

सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्ली इलेक्सनमा जाने कुरा राजनीतिक रुपले ठिकै भएपनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने उनले बताए ।

'पाँच, छ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने, चल्न सक्ने अवस्था नहुने, जनताको सार्वभौम प्रतिनिधिहरुले जनताका विषयमा छलफल गर्न नपाउने अवस्थामा राजनीतिक रुपले त्यसरी सोच्नु ठीकै हो,' उनले भने, 'तर, हामीसँग मौसमी, भौगोलिक जटिलताले गर्दा अब स्थानीय निर्वाचन गर्ने भएसी अर्ली इलेक्सनको सन्दर्भ लगभग सिद्धिए जस्तो लाग्छ ।’

  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १६:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया