महोत्तरीको जलेश्वर नगरपालिकास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोतीराम महतोले सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात कुटपिट गरेका छन् ।
शनिबार बिहान ९ बजे खाना पकाइरहेको समयमा असई महतोले एक्कासि प्रहरी जवान पटेलमाथि कुटपिट गरेका हुन् ।
नेपाली कांग्रेस महोत्तरीको जिल्ला अधिवेशनका लागि बनाइएको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई होटलमा खानाका लागि कुपन उपलब्ध गराइएको थियो । तर प्रहरी जवान पटेललाई सो विषयमा जानकारी नै थिएन ।
पटेलले भने,‘खाना पाउनका लागि आफू आलुको भुजिया काट्दै गर्दा असई साहब एक्कासि आएर मलाई गालीगलौज गर्न थाले । त्यसपछि मुक्का, खुट्टा तथा लाठीले निर्घात रुपमा कुटे ।’
यससम्बन्धमा असई महतोले कामको दवाब र तनावका बिच आफूले लाठीले कुटेकोमा आफूलाई पछुतो रहेको प्रतिक्रिया दिए । यद्यपि आफूले गाली गलौजका साथै एक लाठी हिर्काउनुबाहेक केही नगरेको उनले दाबी गरेका छन् ।
असई महतोले भने, ‘खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै छ, तर कति दिन मलाई भोकै सुत्नु परेको तितो अनुभव छ । यद्यपि, आफूलाई भोकै सुत्नु परे पनि कहिल्यै केही नगरेको बरु कयौँ पटक जिल्लामा यो जवान मलाई चाहिँदैन भनेर एसपी साहबलाई मौखिक जानकारी गराइसकेको छु ।’
जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ हवल्दार र ५ जना प्रहरी जवान कार्यरत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।