माओवादी बैठक स्थगित भएकोमा केन्द्रीय सदस्यहरुको आपत्ति

पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास असफल भएपछि आइतबारका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । अन्तिम समयमा आएर बैठक स्थगित गरिएको भन्दै केही नेताले आपत्ति जनाएका छन् । 

केन्द्रीय सदस्य हिमाल शर्माले अन्तिम समयमा आएर पार्टी केन्द्रीय समितिको बैठक स्थगित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । पदाधिकारी चयनमा कुरा नमिले तत्काल केन्द्रीय समिति बैठकमा ल्याएर सहमति गर्न पनि पार्टीको नेतृत्वसँग उनले माग गरे । एमसिसीबारे बैठकमा समीक्षा गर्ने र धेरै जित्यौँ भन्ने पक्षमा आफू नरहेको पनि शर्माले स्पष्ट पारे । 

अर्का केन्द्रीय सदस्य दलजित विक श्रीपालीले एमसिसीलाई देखाएर पार्टीभित्र विभाजनको रेखा नकोर्न नेता नारायणकाजी श्रेष्ठलाई चेतावनी दिए । चुनावको सामना गरेर जाने बेला नेताहरुले फरक मत राखेर पार्टीमा गुट बनाउन नपाउने उनले बताए । 

एमसिसीको कारण पार्टी विभाजन नहुने केन्द्रीय सदस्य रत्न ढकालको दाबी छ । पार्टीमा फरक मतको जहिले पनि सम्मान हुने उल्लेख गर्दै उनले केन्द्रीय समिति बैठकमा पनि एमसिसीबारे छलफल हुने बताए । तर, त्यसैकारण पार्टी विभाजन नहुने उनको भनाइ थियो ।

पार्टीको पदाधिकारी चयनलगायतका विषयमा सहमति नजुटेपछि भोलि बिहान ११ बजेसम्मका लागि पार्टी केन्द्रीय कार्य समितिको बैठक स्थगित गर्ने निर्णय गरिएको पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । 

गत फागुन २० गतेबाट सुरु भएको केन्द्रीय समितिको आजको बैठकमा पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्य मनोनित गर्ने एजेन्डा तय गरिएको थियो । तर, त्यो होमवर्क पूरा हुन नसक्दा आजको बैठक स्थगित हुन पुगेको ढकालले बताए । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १७:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया