कांग्रेस धनुषा : ९१ पदमा २४० जनाको उम्मेदवारी, सोमबार निर्वाचन हुँदै
फरकधार / २२ फागुन, २०७८
फाइल तस्वीर

नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनअन्तर्गत सोमबार निर्वाचन हुन लागेको छ । बिहीबारबाट सुरु भएको जिल्ला अधिवेशनको चुनावी प्रक्रिया सोमबार हुने भएको हो । 



निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ । 
निर्वाचन अधिकृत अरुण ज्ञवालीले सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको जानकारी दिए । 
उनले विभिन्न ९१ पदका लागि हुन लागेको निर्वाचनमा १० वटा ब्यालेट तयार गरिएको बताए । 

उनले भने, ‘निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । सोमबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा निर्वाचन सुरु हुनेछ । निर्वाचनमा हामीले ८० जना कर्मचारी खटाएका छौँ ।’



कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि विभिन्न ९१ पदमा २४० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस धनुषामा ३ हजार १९७ मतदाता रहेका छन् । 



कांग्रेस धनुषा हाँक्ने गरी जिल्लामा ३ जना प्रभावशाली नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । सभापति पदका लागि संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जना चुनावी मैदानमा छन् । 

संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्तोष यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् भने संस्थापन इतर समूहबाट सभापतिका लागि क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका छन् । पजियार विमलेन्द्र निधि गुटका हुन् भने प्रसैला शेखर कोइराला गुटका ।

त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । 

उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ ।

निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १९:३७:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया