अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले हरायो

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले सोमबार श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको छ । पहिलो अभ्यास खेलअन्तर्गत नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी २८.५ ओभरमा मात्र १ सय ३ रड्दा सबै विकेट गुमाउन पुगेको थियो । 

३२–४ को अवस्थामा रहेको नेभीको इनिङ पाँचौँ विकेटका लागि मधुसंका मदुरा र सञ्जीवाले ३० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । तर, १६औं ओभरको पहिलो बलमा सञ्जीवा पवेलिन फर्किएपछि नेभीको इनिङ थप धरमराएको थियो । सञ्जीवाले २५ बलमा २ चौका मद्दतमा १५ रन जोडे । 

थप २० रन जोड्ने क्रममा नेभीले मधुशंकालाई पनि गुमायो । मधुसंकाले ६८ बलमा ४ चौका र १ छक्का मद्दतमा ३९ रन बनाए । त्यस्तै दिनेश मधुशानले १४ रनको योगदान गरे ।

नेभीलाई सस्तैमा समेट्ने क्रममा कसिलो बलिङ गरेको नेपालका लागि कप्तान सन्दीप लामिछानेले ७.५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै, विक्रम सोब र ज्ञानेन्द्र मल्लले समान २ विकेट लिए । करण केसी, सागर ढकाल र कलमसिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि २ सय १४ रनको योगफल तयार पारेको थियो । २५ रनमा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको नेपालले थप १८ रन जोड्दा ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेट गुमाउन पुगेको थियो । 

ज्ञानेन्द्रले भने मात्र १ रन जोडेका थिए । अर्का ओपनर आसिफ शेखले दीपेन्द्रसिंह ऐरीसँग २७ रनको साझेदारी गरेका थिए । आसिफले ३८ बलमा ५ चौका मद्दतमा ३६ रनको योगदान गरे । ८४–४ को स्थितीमा रहेको नेपालको इनिङ पाँचौँ विकेटका लागि दीपेन्द्र र विनोद भण्डारी ६९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दीपेन्द्रले ५२ बलमा २ चौका र १ छक्का मद्दतमा ४३ रनको योगदान गर्दा विनोदले २५ बलमा २ चौका मद्दतमा २२ रन जोडे ।



त्यस्तै, कमलसिंह ऐरी र करण केसीले समान १६ रनको योगदान गरे । नेभीका अकुरोगोडाले ४ र अवातले ३ विकेट लिए ।

युएईमा अर्को साताबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखलाको तयारीमा रहेको नेपाल हाल अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको छ । नेपाल मार्च १४ मा श्रीलंकाबाटै युएई प्रस्थान गर्नेछ ।



  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार २०:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया