किन बन्दैनन् महिलाप्रधान चलचित्र ?

निर्देशक शिव रेग्मी (हाल दिवंगत) निर्देशित फिल्म हेर्न जाँदा ‘महिला दर्शक रुमाल बोकेर जान्थे’ भन्ने किस्सा कुनै बेला नेपाली फिल्म वृत्तमा खुबै चलेको थियो । किनकि आफैँ फिल्म लेखक भएकाले पनि निर्देशक रेग्मी विशेषत महिला चरित्रलाई पर्दामा शक्तिशाली रूपमा प्रस्तुत गर्थे । महिलाको पीडालाई देखाउँथे । उनका अधिकांश फिल्म ‘हिट’ हुनुमा महिला पात्रको प्रस्तुतिलाई पनि आधार मानिन्थ्यो । 

तर, अहिले अवस्था त्यो छैन । फिल्मको निर्माण शैली फेरिएजस्तै फिल्मप्रति दर्शकको स्वाद पनि फेरिँदै गयो । त्यही अनुरूप कमेडी, एक्सन, प्रेमकथा होस् वा कलात्मक शैलीका फिल्म बन्न थाले । यति हुँदाहुँदै पनि फिल्म उद्योगमा महिला प्रधान फिल्म निर्माणमा कम ध्यान पुगेको हो त भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

निर्देशक दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ले आमा र छोरीको सम्बन्धसँगै अस्पतालमा उपचाररत श्रीमानको उपचारका लागि श्रीमतीको संघर्षलाई प्रस्तुत गरेको थियो । यो फिल्म हेरिरहँदा प्रायः महिला दर्शक बढी भावुक भए । दीपेन्द्रका अनुसार उनको नयाँ फिल्म ‘चिसो मान्छे’ पनि महिला केन्द्रित नै छ ।

‘मैले बनाएका अधिकांश फिल्म महिला केन्द्रित नै छन् । किनकि मलाई महिला केन्द्रित फिल्म बनाउन नै रुची छ’, दीपेन्द्र भन्छन्, ‘मेरो बुझाइमा महिला केन्द्रित फिल्म कम बन्नुमा बक्स अफिसको प्रभाव हुनसक्छ । बक्स अफिसमा अहिले पुरुष प्रधान समाज नै छ । बक्स अफिसमा कमजोर हुनसक्छ, अथवा महिला प्रधान फिल्म बन्यो भनेर दर्शक नआउलान् कि भन्ने डर निर्माता पनि हुनसक्छ ।’

फिल्म ‘मेघा’, ‘फागु’ की निर्देशक सम्झना उप्रेती रौनियार नेपालमा महिला प्रधान फिल्म नबनेको दाबी गर्छिन् । ‘अहिलेका निर्माता र निर्देशकले विशेषत युवापुस्ताले चाहेको फिल्म बनाइरहेका छन् । धेरैजसो नयाँ निर्देशक नै छन् । उनीहरू महिलाको विषयलाई प्राथमिकतामा राख्दैनन्’, सम्झना भन्छिन्, ‘विश्वव्यापी रूपमै हेर्ने हो भने महिलाको विषयलाई प्राथमिकता दिएका फिल्मले राम्रो कमाइसँगै सन्देश पनि छोडेका छन् ।’ 

सम्झनाको बुझाइमा नेपालमा वितरक र निर्माताले महिलाका विषयलाई नटेर्ने भएर पनि महिला प्रधान फिल्म नबनेका हुन् । ‘पुरानो पुस्तामा पनि महिलालाई प्राथमिकता दिएर कसैले पनि फिल्म बनाएका थिएनन् । त्यो क्रम अहिले नयाँ पुस्तामा पनि निरन्तर छ’, उनी भन्छिन् ।



नेपाली फिल्म प्रदर्शनको ट्रेन्ड हेर्ने हो भने कमेडी, प्रेमकथा र समाजका वास्तविक कथालाई चित्रण गरिएका फिल्मले दर्शकको साथ पाइरहेका छन् । तर यी कथामा महिलाका कथा कमैमात्र छन् ।

दीपेन्द्र र सम्झनाले महिला प्रधान फिल्म कम बनिरहेको स्वीकारिरहँदा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणाको भने यो विषयमा अलिक फरक बुझाई छ । उनी संसार नै पुरुष प्रधान समाज रहेकाले महिला प्रधान फिल्म कम बन्नु स्वाभाविक नै रहेको मान्छिन् । ‘सुरु-सुरुमा धेरै नेपाली फिल्महरू महिला प्रधान नै बनिरहेको जस्तो लाग्थ्यो । पछिल्लोपटक महिला होस् वा पुरुष समाजप्रति जिम्मेवार बनिरहेका छन् । त्यस हिसाबले पहिलाको तुलनामा अहिले महिला प्रधान फिल्म धेरै बनेका छन्’, उनी भन्छिन्, ‘हाम्रो ध्यान हलमा रिलिज भएका फिल्ममा मात्र हुन्छ । त्यस हिसाबले कमैमात्र महिला केन्द्रीत फिल्म रिलिज भएका हुन्छन् । तर महिला केन्द्रीत फिल्म बनेर विविध कारणले रिलिज नभएका फिल्म पनि होलान् नि ।’



अहिलेका दर्शकमा सामाजिक सञ्जालको उपस्थिति उल्लेख्य रहेकाले फिल्मकर्मी र दर्शकबीच उल्लेख्य सञ्चार सम्पर्क हुने गरेको रक्षाको बुझाई छ । ‘एउटा निश्चित वर्गका दर्शक व्यावसायिक फिल्ममा रमाउँछन् । त्यसलाई सबैले स्वीकार्नै पर्छ । अहिलेका दर्शक धेरै विषयमा जानकार छन् । विशेषत समाजसँग जोडिएका कथाका फिल्ममा उनीहरुको चासो बढी छ । त्यसकारणले पनि महिला केन्द्रीत फिल्म नबनेको भन्न मिल्दैन’, रक्षा भन्छिन् ।

सुपरहिट सिरिज ‘छक्का पञ्जा’ कि निर्देशक दीपाश्री निरौला आफूहरू महिला केन्द्रित नै फिल्म बनाइरहेको दाबी गर्छिन् । ‘समाजमा महिलामात्र होइन, पुरुष पनि छन् । फिल्म निर्माताहरू विकृति, विसंगतिहरूलाई लिएर फिल्म बनाइरहेका हुन्छन् । महिला र पुरुषलाई अन्याय परेको छ भने त्यसमा फिल्म बनाउनुपर्छ । तर महिलाले बनाएको फिल्म भनेपछि महिलाकै विषयमा बनाउनुपर्छ भन्ने छैन । वर्ग अथवा लिंग छुट्याएर फिल्म बनाउनुहुँदैन’, उनी भन्छिन्, ‘पहिला फिल्ममा महिलालाई कम प्राथमिकता दिइन्थ्यो । अहिलेका फिल्ममा त महिलालाई शक्तिशाली रूपमा देखाइने गरिएको छ । त्यसले गर्दा बराबरी रुपमा अगाडि लैजानुपर्छ ।’

दीपाश्री विषय हेरेर महिला र पुरुष राख्नुपर्ने बताउँछिन् । आफू महिला भएकाले महिलाकै न्यायमा फिल्म बनाउन मन लाग्ने भए पनि वर्ग अथवा लिंग छुट्याएर काम गर्न नहुने उनको तर्क छ । ‘किनभने समाजको एउटा पात्रको रूपमा हामीलाई लिए पनि दुवै पात्रलाई अन्याय नहोस् भनेर काम गर्नुपर्छ जस्तो लाग्छ’, दीपाश्रीले भनिन् ।


  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार ७:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया