सडकका कुकुर स्याहार्ने रीतिका

कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुरकी रीतिका गुरुङ सडकमा रहेका कुकुरलाई स्याहार्छिन् । सानैदेखि कुकुरलाई माया गर्ने रीतिका हरेक दिन केही घण्टा कुकुरका लागि सुम्पिन्छन् ।

घरमा पालेको कुकुरको माया गर्नेहरू त धेरै छन् । तर, उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डोर्याउँछ । उनलाई सडकमा घाइते अर्थात बिरामी कुकुर देख्नु नै हुँदैन् । देख्यो कि त्यो कुकुरलाई समातेर उपचार गरिहाल्छन् ।

‘सडकमा घाइते भएका बिरामी कुकुर भेटिएमा त्यसलाई उपचार गरेर मात्र अन्य काममा लाग्छु’, उनले भनिन्, ‘सकेसम्म आफैँ उपचार गर्छु । नसके भेटनरीमा पुगाएर पनि उपचार गरेको छु ।’

उमेरले २१ वर्षकी रीतिका कुकुरसँग बढी रमाउँन्छिन् । उनको बुबा र आमाले धनगढी सहिद गेट नजिकै होटल व्यवसाय गर्छन् । कुकुरलाई होटल पछाडि बस्ने ठाउँ बनाएकी छन् भने घरमा समेत बस्ने स्थान छुट्याएकी छन् ।

‘हाम्रो बोली बुझ्न नसक्ने कुकुर कहिलेकाही छिमेकीको घरमा समेत पुग्छन्’, रीतिका भन्छन् ‘त्यतिबेला मैले गाली खानुपर्छ ।’ सडकमा आफ्नो आँखाले भन्दा पनि अरु कसैले बिरामी कुकुर छ भन्ने खबर गरे पनि उनी चाँडै नै त्यहाँ पुगिहाल्छिन् ।



‘यिनीहरूको पेट भरेर दिन सुरु गर्दा आनन्द लाग्छ । पर्खेर बसेका हुन्छन् । बोल्न पो सक्दैनन्, तर यिनीहरूले खाने कुरा माग्छन् । दिन पाउँदा खुशी लाग्छ’ उनले भनिन्, ‘खानका लागि आफ्नो व्यक्तिगत तथा कहिलेकाही सहयोगीदातासमेत जुट्ने गर्छन् ।’

उनले आफ्ना गतिविधि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्छिन् । त्यो देखेर नै सहयोगीदाताहरू जुट्छन् । ‘स्ट्रिट पब्ज’ नामक फेसबुक पेज बनाएकी छन् । आफ्नो काम देखेर धेरै प्रभावित हुने गरेको उनले बताइन् ।



‘धनगढी शहरमा घना बस्ती भइसक्यो । सडकमा सवारी साधन पनि त्यतिकै हुन्छन्’, उनले भनिन्, ‘सडकमा कति कुकुर ठोकिएर मरेका हुन्छन् । त, वास्ता कसैले गरेका हुँदैनन् । त्यति वेला दुख लाग्छ ।’

सडकका कुकुर पनि राम्रो स्याहार पाए सुन्दर हुने गरेको उनले बताइन् । ‘राम्रोसँग पालन पोषण गरेमा सडकका कुकुरहरू पनि सुन्दर हुन्छन्’, उनी भन्छन्, ‘सही ढंगले पालन पोषण गर्नुपर्‍यो । मैले नै सडकका कुकुर पालेर धेरैले लगेका छन् ।’

सडकका कुकुरप्रति अरूले गर्ने व्यवहारले भने रीतिकाको मन कुँड्याउँछ । गाडी चलाउनेहरुले बेवास्ता गर्छन्, मर्कामा निर्दोष कुकुर पर्छन् । घरमा कुकुर पालेकैहरूले पनि सडकका कुकुरलाई लखेट्छन्, छि-छि दूर-दूर गर्छन् । उनलाई भने यस्तो देख्दा अति नमिठो लाग्छ । कुकुरको सर–सफाइमा पनि त्यतिकै ध्यान दिन्छन् ।

‘धेरैले बाहिरको कुकुर हो, पिट्नु पर्छ, लखेट्नु पर्छ भन्ने ठान्छन् । तर यस्तो होइन, यिनीहरू बोल्न पो सक्दैनन्, बुझ्न त सबै बुझ्छन् नि । यिनीहरूले पनि सोच्छन् । माया गरे यिनले पनि माया नै दिन्छन्’ रीतिकाले भने, ‘यिनीहरूले हामीले दिए न खाने हुन् । थोरै खान दिए यिनले ठूलो गुन मान्छन् ।’

सुरुमा सडकबाट घाइते अवस्थामा ल्याएका कुकुर मान्छे देख्दा धेरै नै डराउने गर्छन् । तर, विस्तारै स्याहार्दै जादा नजिक आउँछन् । उनी भन्छन्, ‘सडक कुकुरले पिसाब त गर्छन्, तर जहाँ पायो त्यहीँ दिसा गर्दैनन् । बाटोमा फोहोर गर्ने त घर पालुवा कुकुरले हो । सडकका कुकुरलाई माया र सके थोरै खाना दिए पुग्छ । अरु केही पर्दैन । यिनीहरूसँग डराउनु, भाग्नु वा तर्सनु पर्दैन ।’

उनले एक वर्षमा २ सय ९३ कुकुरको उद्धार गरी पालन पोषण गरेको बताइन् । आफ्नो उद्देश्य स्वच्छ सफा धनगढी बनाउने कार्यमा सहयोग पुगोस् भन्ने ध्येयले पनि यस्तो कार्यमा लागेको उनको भनाइ छ ।

एक वर्षदेखि सडकमा रहेका कुकुरका बेवारिसे बच्चालाई एक/दुई गर्दा गर्दै घरमा लिएर राख्दै आएको  र अहिले धेरै हुने गरेको रीतिका गुरुङले बताइन् । अहिले ३५ वटा आफूसँग कुकुर रहेको उनले बताइन् ।

कतिपय गाडीले किचेर, भिजेर, खाना नपाएका कुकुरका बच्चालाई घरमा ल्याएर खाना दिने भ्याक्सिनको जोहो गर्दा सुरुमा गाह्रो हुने गरेको र अहिले विभिन्न व्यक्तिहरूको सहयोग पाउँदा सहज भएको रीतिकाको भनाइ छ ।

एक/एक गरेर ल्याउँदा पनि लगभग २ सय ९३ पुगेका थिए । तीमध्ये १ सय ७२ पाल्नका लागि लानेहरूले लिएर गएको उनले सुनाइन् । धेरैको कुकुर मरेको समेत उनको भनाइ छ ।

रीतिकालाई उनकी आमा जानुकाले पनि सघाउने गरेकी छन् । कुकुर भनेपछि मान्छेको भन्दा पनि बढी माया लाग्ने गरेको जानुकाको भनाइ छ ।

चोटपटक लागेका र खाना नपाएका कुकुरलाई खाना खुवाउने, औषधि गर्ने गरेको उनले बताइन् । आफूले सक्ने जति सर–सफाइ गर्दा पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहने गरेको भए पनि कुकुरप्रति गर्ने मायामा कमी नआउने जानुकाको भनाइ छ ।

जसले कुकुरको बच्चालाई आफ्नो जस्तै माया गर्छन्, उनीहरूबाट सहयोग पाउँदा खुसी लाग्ने गरेको उनले बताइन् । रीतिकालाई अब एउटा व्यवस्थित कुकुर पालन गर्ने मन छ ।

‘अहिले मसँग प्रसस्त ठाउँ छैन्’, उनले भनिन् । ‘फराकिलो ठाउँ भएमा व्यवस्थित ढंगले कुकुरको रेखदेख गर्ने ठाउँ खोल्ने मन छ । त्यस्तो ठाउँको खोजीमा छु ।’ रीतिका अहिले फेरि १८ महिने भेटनरी अध्ययन गरिरहेका हुन् ।

  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १६:२८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया