'महिलाको राजनीतिक सहभागिता बढाउन प्रतिनिधिसभा निर्वाचनमा आरक्षण व्यवस्था गर्नुपर्छ'

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलालाई प्रतिनिधिसभामा सिट आरक्षण गरिनुपर्ने बताएकी छन् ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता : चुनौती र अगाडिको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री यादवले महिलाको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । 

उनले महिलाले राजनीतिमा गरेको योगदानको उचित मूल्यांकन हुनुपर्ने पनि बताइन् । 

मन्त्री यादवले महिलालाई राजनीतिक प्रतिस्पर्धामा ल्याउन नसके उनीहरूको क्षमता अभिवृद्धि हुन नसक्ने बताइन् ।

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक पार्टीले महिलालाई अगाडि बढाउने योजना बनाउनुपर्ने बताइन् । 

उनले हाल स्थानीय तहमा उपप्रमुखको भूमिकामा रहेका महिला अब उपप्रमुखमै सीमित हुनु नहुने बताइन् । 



मेहनत र स्वअध्ययनले आफ्नो क्षमता वृद्धि गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । 

पितृसत्ताले महिलालाई कमजोर बनाएको भन्दै उपाध्यक्ष शाक्यले त्यसका विरुद्ध वैचारिक संघर्ष गर्न महिलालाई आह्वान गरिन् । 



स्थानीय तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न पार्टीले स्पष्ट मापदण्ड बनाउनुपर्ने उनले बताइन् ।

नेकपा (एमाले) की स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पछिल्लो पुस्ताका महिला राजनीतिक रूपमा नेतृत्व लिन सक्षम र योग्य भएको बताइन् । 

धेरै महिला स्थानीय तहको प्रमुख चलाउन योग्य भएको भए पनि जसले प्रमुख दाबी गर्छ उसलाई किनारा लगाउने सम्भावना हुने गरेको उनले बताइन् । 

चुनावमा टिकट दिने ठाउँमा पनि महिला हुनुपर्नेमा उनले जोड दिइन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले महिला चुनाव लडेर नेतृत्व लिन तयार रहेको बताइन् । 

चुनावमा महिलालाई आउन नदिने पुरुष मानसिकता पार्टीभित्र र बाहिर हुने गरेकाले त्यस्तो मानसिकता हटाउनुपर्ने उनले बताइन् । 

निर्वाचन पद्धति खर्चिलो भएको उल्लेख गर्दै उनले निर्वाचन पद्धति पनि पारदर्शी बनाउनुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताइन् । 

अग्रजसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि उनले बताइन् । केन्द्रीय सदस्य राणाले आफ्नो सन्तानलाई महिलालाई सम्मान गर्न सिकाउनुपर्ने बताइन् ।

उनले महिला आफ्नो अधिकार प्राप्तिको निम्ति सचेत हुनुपर्ने बताइन् ।

  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १९:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया