दार्चुलाको महाकालीमा नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान
महाकाली नदीमा भारतीय पक्षले चलाएको स्काभेटर ।

दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीमा भारतीय पक्षले पक्की तटबन्ध निर्माणको कार्यलाई तीब्रता दिएको छ । नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतीय पक्षले एकतर्फी तरिकाले महाकालीमा पक्की तटबन्ध निर्माणको कार्य गरिरहेको हो । 

एकपक्षीय ढंगले महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै स्थानीयले विरोध जनाउन थालेका छन् । मंगलबार भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको भन्दै विरोध जनाएका हुन् । दुई वटै पक्षको विवाद भएको दार्चुला प्रशासनले स्वीकार गरेको छ ।

‘नेपालतर्फ यस अगाडि नै तटबन्ध निर्माण गरिसकेको छ । भारतले अहिले तटबन्ध बनाई रहेको हो’, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ उपाध्यायले भने, ‘भारतीय पक्षले नेपालको भूभागमा आएर ढुङ्गा लिन खोजेपछि विवाद भएको सुन्नमा आएपछि सुरक्षाकर्मी पठाएर भिडलाई तितरवितर गरेको हो ।’ यद्यपी मानवीय क्षति भने केही नभएको प्रमुख जिल्ला अधिकारीले उपाध्यायले बताए ।

प्रशासनले विवाद भएपछि नेपाल र भारतका स्थानीय नागरिकबीच ढुंगा हानाहान जनाएको छ । भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद सुरु भएको हो । 

महाकाली नदीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गरिहेको उनले बताए । नेपाली भूभागबाट ढुंगा उत्खनन् समेत गरेको उनको भनाई छ ।

ढुंगा हानाहानपछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरवितर गरिएको थियो । ‘प्रहरी प्रशासन पुगेपछि ढुंगामुढा र विरोध रोकिएको हो । उनीहरुले स्काभेटर फिर्ता लगेका छन्,’ प्रजिअ उपाध्यायले भने, ‘हामीले समन्वय गरेर मात्रै काम गर्न भनेका छौ ।’ भारतीय पक्षले पुरानो तटबन्धसँगै महाकाली नदीमा ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माण गरिरहेको जनाएको छ ।



अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन । तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफूखुसी पक्की तटबन्ध निर्माण भन्दै स्थानीय विरोध जनाउँदै आएका छन् । 

गत माघमा प्रमुख जिल्ला अधिकारी  उपाध्यायले नेपाल भारतका अधिकारीहरुको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराएका थिए । बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्धबारे विस्तृत जानकारी दिने भनेको थियो । त्यसको वेवास्ता हुँदै आएको छ ।



  • प्रकाशित मिति : फागुन २४, २०७८ मंगलबार १९:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया