महेशबाबुले बाँचिरहेका जीवनका फरक फरक 'डाेमेन'

महेशबाबु तिमिल्सिनाले जीवनलाई फरक फरक ‘डोमेन’मा बाँचेका छन् । 

कुनै समय उनी आफ्नै गाउँ सिन्धुपाल्चोकको लामोसाँघुको स्कुलमा पढाउन पुगेका थिए । गाउँकै स्कुल थियाे त्याे जहाँ महेशबाबु जन्मिए, हुर्किए । जहाँकाे परिवेशले उनलाई साहित्यसकाे रस पसायाे । स्कुलमा उनी कक्षामा अब्बल त थिए नै साथासाथै उनले साहित्यमा आफ्नो अभिरुचि पनि यसरी बढाएका थिए कि दश कक्षामा उनी पुग्दानपुग्दै उनको कथा सङ्ग्रह तयार भइसकेको थियो । 

‘त्यति बेला विद्यालयले नै त्यो कथा सङ्ग्रह प्रकाशन गर्ने भन्ने तयारी थियो,’ महेशबाबु त्यति बेलाका दिनमा पुगे, ‘पछि प्रकाशित त भएन तर ममा स्कुले जीवनदेखि नै सिर्जनात्मक मन र अभ्यास त्यति बेला नै जन्मिएको थियो, अहिले हुर्किँदै छ ।’

खासमा महेशबाबु लेखक बन्न चाहन्थे । तर, जीवनले उनलाई डोर्याउँदै डोर्याउँदै फरक फरक यात्रामा लगिरहेको छ, एउटा छुट्टै ‘डोमेन’मा उनले जीवन रमाइरहेका छन् ।

‘खासमा म स्कुले जीवनदेखि नै लेखक बन्न चाहन्थे,’ महेशबाबुले केही दिनअघि काठमाडौंको बढ्दो गर्मीमा ‘फ्रेस जुस’को एक घुट्की लिँदै सम्झिए, ‘स्कुलमा त्यो कथा संग्रह प्रकाशित भएन । तर, मैले २०६० सालमा मेरो पहिलो कथा संग्रह प्रकाशन गरेँ– फेरि एक अन्त्यको सुरुवात ।’

लेखनमा उनको हुटहुटी त्यस्तै थियो । तर, लेखनलाई नै महेशबाबुले आफ्नो ‘प्रोफेसन’ बनाउन पाएनन् । त्यसो त अहिले पनि नेपाली समाजमा लेखनलाई नै प्रोफेसन बनाउनेहरु अत्यन्त कम छन् । 



लेखनलाई प्रोफेसन बनाउन नपाए पनि लेखन र पठनसँग निकट व्यवसायमा महेशबाबु लागे, शैक्षिक क्षेत्रमा ।

‘मैले शैक्षिक परामर्शदाता भएर आफ्नो करिअर अगाडि बढाएँ,’ महेशबाबुले भने, ‘यो क्षेत्रमा पनि मलाई मनदेखि आउने सिर्जनात्मक अभ्यासलाई बारम्बार प्रयोग गर्न पाइरहेको छु ।’ अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयहरुसँगको मौखिक संवादमा होस् या इमेलबाट हुने लामा लामा छलफलका विषयमा किन नहोस्, महेशबाबुले आफ्नो सिर्जनात्मक अभ्यासको काँटछाँट गर्न पाएका छन्, प्रयोग गर्न पाएका छन् ।



६० सालपछि आफ्नै क्षेत्र र व्यवसायमा बढी ‘फोकस्ड’ भए महेशबाबु । उनले शैक्षिक परामर्शदाता संस्था खोले । पहिले डेरिडा एजुकेसन स्थापना गरेर सुरु गरेका महेशबाबु तिमिल्सिनाले अहिले कंगारु एजुकेसन सन्चालन गरिरहेका छन् । सन् २००१ देखि यो क्षेत्रमा बिताएका महेशबाबुलाई मनले चाहिँ सधैं सिर्जनात्मक काम गर्न धकेलिरहेको चाहिँ थियो ।

 गत वर्षदेखि विश्व महामारी कोरोनाभाइरसका कारण निम्तिएको लकडाउनले चाहिँ सबैलाई घरमा नै सिमित गर्यो, भइरहेका कामहरुमा अल्पविराम लागे । महेशबाबु तिमिल्सिना पनि घरमा नै ‘थुनिए’ । त्यही बेला उनले आफ्ना पुराना डायरी खोल्न थाले, खोतल्न थाले ।

‘फलतः मैले लकडाउनको समयमा आफ्नो मनमा रहेको तर बाहिर आउन नपाएको सिर्जनात्मक कर्मलाई फोकस गरेँ,’ उनले भने, ‘पुराना रचनाहरु हेरेँ, नयाँ लेख्न थालेँ ।’

फलतः उनले केही समयअघि मात्र आफ्नो कविता संग्रह प्रकाशन गरेका छन्– अजम्मरी अक्षरहरु । अजम्मरी अक्षरहरुका कविता अंग्रेजीमा पनि अनुदित भएका छन्, नेपाली र अंग्रेजी दुवै भाषाका कविता एउटै संग्रहमा प्रकाशित भएका छन् ।

अहिले महेशबाबु तिमिल्सिना त्यो कथा र यो कविता संग्रहका कारण चर्चामा छैनन् । उनले निर्माण गरेको फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनको संघारमा छ र यसले चर्चा बटुलिरहेको छ ।

‘म सिर्जनात्मक कर्ममा नै थिएँ, मनभित्र सुशुप्तरुपमा सिर्जनासँग म नजिक थिएँ,’ तिमिल्सिनाले अर्को ग्लास फ्रेस जुस अर्डर गरे र भने, ‘चिसो एष्ट्रे निर्माण गरौँ भनेर दिनेश पाल्पाली आउनु भयो । दिनेशजी फिल्मको निर्देशक । उहाँले ल्याउनु भएको जुन कन्सेप्ट थियो, त्यसलाई फिल्ममा वा भिडियोमा उतार्न सक्दा गज्जब हुन्छ भन्ने मलाई लाग्यो, मैले त्यसैले यो फिल्ममा हात हालेँ ।’

कवि भूपि शेरचनको कविता चिसो एष्ट्रे महेशबाबु तिमिल्सिनाले पहिले नै पढिसकेका थिए । निर्देशक दिनेश पाल्पालीले प्रस्ताव ल्याएपछि उनले कविता फेरि फेरि पढे, अनेकपटक ।

यति बेलासम्म महेशबाबुलाई कविता दुरुह हुन्छ भन्ने नेपाली साहित्य समाजको धारणाले राम्रै स्थान ओगटिसकेको थियो । तर, उनी यसलाई फरक रुपमा प्रस्तुत गर्न चाहन्थे । फलस्वरुपः नेपालमा कोरोनाभाइरसले पहिलो चरणको लकडाउन हुने समयमा महेशबाबुले यसलाई प्रयोगमा पनि ल्याए । 

अनि उनले ‘भिजुअल प्रोयट्री’लाई प्राथमिकता दिन थाले । उनको यही सोच र कन्सेप्टअनुसार नै कवितामाथि एउटा सर्ट मुभी बनेको छ, ब्रेकिङ न्युज । ‘अर्को एउटा सर्ट मुभी पनि कवितामाथि नै आधारित रहेर बनाउँदै छु,’ महेशबाबुले भने, ‘यो प्रयोगले मलाई राम्रो सन्तुष्टि दिइरहेको छ ।’

कविताप्रति माया हुँदाहुँदै पनि महेशबाबु आफूलाई कविताको सर्कलमा पाउँदैनन् । ‘विभिन्न कारणवश म यो सर्कलमा रहन सकिनँ,’ उनले भने, ‘मलाई मेरो कवितामाथि समालोचना वा समीक्षा हुँदा समालोचक वा समीक्षकले के भन्नुहुन्छ भन्ने कुराले धेरै चिन्तित बनाउन सक्दैन, मभित्रको सिर्जना हो, त्यसलाई म निरन्तरता दिन्छु भन्नेमा छु ।’

त्यही भिजुअल पोएट्रीको एउटा सिरिज मान्न सकिन्छ चिसो एष्ट्रेलाई पनि ।

भूपीको यो कवितालाई कथा बुनेर फिल्ममा उतार्ने कन्सेप्ट लिएर महेशबाबुकहाँ पुगेका थिए, दिनेश पाल्पाली । पाल्पालीको प्रस्ताव सुनेपछि तिमिल्सिनाले लामो समय सोचे, उनीहरु मिलेर अरु फरक फरक प्रोजेक्टमा पनि सहकार्य गरे ।

त्यसपछि कथामा आफूहरुले न्याय गर्न सक्ने निष्कर्ष निकालेका थिए, महेशबाबुले । सन् २०१६ को अन्त्यतिर चिसो एष्ट्रे बन्ने निश्चित भयो । अब फिल्म बन्ने प्रक्रिया सुरु भयो ।

‘फिल्म बनाउन त्यति सजिलो चाहिँ होइन रहेछ,’ उनले भने, ‘तर, मसँग पहिले पनि टेलिफिल्ममा काम गरेको अनभुव थियो, त्यसले केही न केही सहयोग चाहिँ गर्यो ।’ यो खासमा उनले आफ्नो करिअर केमा बनाउने भन्ने थियो, उनले प्रसंगवश टेलिफिल्म ‘मर्दीको किनारामा’मा काम गर्ने मौका पाए ।

‘अरुण सायमीले लेख्नु भएको उपन्यासमा आधारित टेलिफिल्म थियो,’ उनले सम्झिए, ‘त्यो पनि साहित्यसँग नै रिलेटेड थियो ।’

यसरी आफ्नो करिअर केमा बनाउने भन्ने निश्चित नहुँदा नहुँदै पनि महेशबाबु साहित्यसँग नजिकिँदै थिए, स्कुलमा उनले गरेको सिर्जनाको प्रभाव त उनको मनमा छँदै थियो ।

चिसो एष्ट्रेमा काम हुन थालेपछि महेशबाबुले चलचित्रबारे बाहिर भइरहेका टिप्पणी र वास्तविकतामा निकै ठूलो फरक पाए । ‘खासमा चलचित्र क्षेत्रमा बाहिर जे टिप्पणी भइरहेको छ, त्यस्तो होइन रहेछ,’ महेशबाबुले भने, ‘नेपालमा कलाकार वा चलचित्रकर्मीहरुले प्यासनका साथ काम गरेको मैले देख्न थालेँ, अनुभव गर्न पाएँ ।’

चिसो एष्ट्रेले महेशबाबुलाई सबैभन्दा ठूलो सन्तुष्टि दिएको छ, उनी निश्चित छन्, यो फिल्मले नेपाली फिल्मी क्षेत्रमा एउटा फरक प्रभाव पार्नेछ । 

‘फेरि यो कथा सिन्धुपाल्चोकबाट काठमाडौं आएको एउटा युवाको कथा मात्र होइन, सुदूरपश्चिमबाट काठमाडौं आएको अर्को युवाको पनि कथा हो,’ महेशबाबुले भने, ‘यो भूपीको टुकुचेबाट टुकुचासम्म आइपुगेको कथा मात्र होइन, काठमाडौं नेपालका अनेक ठाउँबाट आइरहेका युवाहरुको कथा हो ।’

चिसो एष्ट्रे ४ चैतमा नेपालभरका सिनेमा हलहरुमा रिलिज हुँदैछ । ‘होलीको भोलि,’ महेशबाबुले भने, ‘एउटा गाउँले केटो सहरको ठिटो बन्ने चक्करमा कसरी चुरोट ठुटो बन्छ भन्ने कथा यसमा प्रष्टसँग आएको छ ।

युवाहरुको आँखाभरीको सपना र मुटुभरको आगोलाई यो फिल्ममा उतारिएको दाबी छ, महेशबाबुको । 

अनि जीवनमा अर्को एउटा डोमेन पनि थपेका छन्, महेशबाबुले– निर्माता ।

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १४:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया