यही गतिमा मूल्य वृद्धि भए निगम प्रतिमहिना १० अर्ब रुपैयाँले घाटामा जाने

अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ ।

रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्यसमेत अत्यधिक रुपमा बढ्दै गएकाले पेट्रोलियम पदार्थ मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ । निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेको मूल्य अहिले बढेर १५ दिनमा २ अर्ब रुपैयाँ नोक्सान र महिनाको ५ अर्ब घाटामा पुगेको अवस्था रहेको छ । 

बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा निगमसँग गरेको छलफलमा बोल्दै नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई.सुशील भट्टराईले अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने बताए । अब निगम घाटामा जाने कुरा मात्रै नभएर आगामी दिनमा खरिद गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढ्दै गएको उनले बताए । 

चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म निगम करिब २८ अर्ब घाटामा गएको कार्यकारी निर्देशक भट्टराईले समितिलाई जानकारी दिए । २८ अर्ब घाटामध्ये १५ अर्ब खाना पकाउने एलपिजी ग्यासमा रहेको र प्रतिसिलिण्डर समेत ६६५ रुपैयाँ घाटा रहेको उनले बताए । अहिले निगमसँग पेट्रोलियम पदार्थ ८० देखि ८५ प्रतिशत अर्थात् ५ करोड लिटर मौज्दात रहेको आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको भटट्राईले जानकारी दिए । 

आयल निगम प्रतिमहिना न्यूनतम २ अर्ब र बढीमा ६ अर्बले घाटामा रहेकाले पछिल्लो अवधिमा निगमको सञ्चितिमा रहेको सबै नाफा समेत सकिएको कार्यकारी निर्देशक भट्टराईले बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अघिअघि निगम पछिपछि भएकाले अहिले यो स्थितिमा पुगेको उनले बताए । 

त्यस्तै, समितिको छलफलमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेले मन्त्रालय आयल निगमलाई कसरी बचाएर पेट्रोलिय पदार्थको आपूर्ति गर्ने भन्ने चिन्तामा रहेको बताए । अहिलेको अवस्थामा आयल निगमलाई बचाउन उनले सबैको सहयोग माग गरे । पछिल्लो समय रुस र युक्रेनबीच तनावको कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेकाले अझै बढ्दै जाने संकेत रहेको पाण्डेको भनाइ छ । 



सबै निकायसँग भएको रकम निकालेर अहिलेसम्म खरिद गरेको रकम भुक्तानी गरेका, तर अब कसरी भुक्तनी गर्ने समस्या भएको उनले बताए । सरकारले अब पेट्रोलियम पदार्थको खपत कम गर्ने विषयमा छलफल अगाडि बढाएको पनि पाण्डेले जानकारी दिए । नेपालमा तत्काल पेट्रोलियम पदार्थको विकल्प पनि नभएको उनले दाबी गरे । 

अहिले व्यवसायीले निगमलाई अफ्ठ्यारो परेको अवस्थामा पेट्रोल ढुवानी बन्द गरेकाले निगमले व्यवसायीलाई घाटा हुने गरी काम नगर्ने पाण्डेले बताए । सचिव पाण्डेले आयल निगम बच्यो भने मात्रै व्यवसायी पनि बच्ने हुँदा ढुवानी खोल्न व्यवसायीलाई आग्रह गरे । 



त्यस्तै ,नेपाली कांग्रसका सांसद प्रकाश रसाइलीले आयल निगमको बुढीगण्डकी बनाउन लिइएको पूर्वाधार कर घटाउनुपर्ने बताए । उनले भने, ‘बुढीगण्डकी बनाउन पूर्वाधार बनाउन कहिलेसम्म सरकारले निगमसँग कहिलेसम्म लिइराख्ने ? जुनसुकैको सरकार होस् । जीवन्ततः होइन होला !’

सांसद रसाइलीले सरकारका हरेक अर्थमन्त्रीले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्र्दै विद्युतीय सामग्रीमा भन्सार छुट गर्ने काम मात्रै भएको बताए । निगम नाफा भएको बेला पूर्वाधार निर्माणमा रकम लगाउने, बोनस खाने भएकाले पनि अहिले समस्या आएको आरोप लगाए । 

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १८:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया