कामदारको परिश्रमले समृद्धि ल्याउँछ – प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गरे । 

‘देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्का क्रियाशील हुनुपर्दछ, आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ, ‘नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो ।’ 

बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।

‘स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेशमै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको छ,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।  

संयुक्त राष्ट्रसंघले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धिको नेपाल पक्षराष्ट्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हकअधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भीर रहेको जनाएका छन् । 





  • प्रकाशित मिति : पुस २, २०७५ साेमबार १८:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया