एमसिसीको बहस मन नपर्नेहरू पार्टीबाट जान्छन्, यसलाई ठूलो ठान्न हुँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी परियोजना जस्ताको तस्तै पारित हुनु हुँदैन भनेर भन्ने पार्टी माओवादी केन्द्र नै भएको दाबी गरेका छन् ।

साथै, प्रचण्डले एमसिसीको बारेमा बहस चल्दैजाँदा त्यो बहस मनपर्ने बस्ने र मन नपर्ने जाने हुँदा त्यसलाई ठूलो मान्न नहुने पनि बताए । 

‘एमसिसीको बारेमा बुझ्दै जाने हुन्छ । बहस चल्दै जाने हुन्छ । मनपर्ने बस्ने हुन्छ । मन नपर्ने जाने हुन्छ । यसलाई ठूलो ठान्न हुँदैन’, प्रचण्डले भने ।

पोष्टबहादुर बोगटीको सालिक अनावरण गर्न नुवाकोटा पुगेका अध्यक्ष प्रचण्डले पत्रकार भेटघाटमा ‘व्याख्यात्मक घोषणा’ सहित पारित गर्ने निर्णय आउँदा केहीलाई आकस्मिक जस्तो लागेको टिप्पणी गरे ।

‘एमसिसी जस्ताको तस्तै पारित गर्न हुँदैन भनेर सुरुदेखि भन्ने पार्टी नै हामी हौं’, प्रचण्डले अघि भने, ‘राजनीतिक घटनाक्रम बढ्दैगर्दा एउटा यस्तो परिस्थिति जस्ताको तस्तै नगर्ने व्याख्यात्मक घोषणासहित गर्न सकिने भन्ने एकैचोटी निर्णय आउँदा कतिपय साथीहरूलाई आकस्मिकजस्तो लाग्याे । किनभने सडकमा आन्दोलन पनि हामीले नै गरेका छौं । सडकमा देखिएको आन्दोलन माओवादी केन्द्रकै कारणले भएको थियो ।’

व्या‍ख्यात्मक घोषणालाई पार्टी निर्माण र विचारको विकासका लागि राम्रो बहसको रूपमा लिनुपर्ने प्रचण्डको भनाइ छ । 



उनले संचारकर्मीको प्रश्नमा भने, ‘सरकारभित्र पनि हामी यथास्थितिमा यो प्रस्तावको पक्षमा भोट हाल्नसक्ने कुरा हुँदैन । हामी विपक्षमा हुन्छौं भनेर कांग्रेसँग पनि कुरा गरेको सन्दर्भमा व्याख्यात्मक घोषणाको बारेमा केही समय कन्फ्युजन हुनु स्वभाविक हो । हामीले यो बहसलाई नकारात्मक ढंगले हेर्नु हुँदैन। यो बहसलाई पार्टी निर्माणको निम्ति, विचारको विकासको निम्ति, संगठन सुढृढ गर्नका लागि राम्रो बहसको रूपमा बुझ्नुपर्छ भनेका छौं । केही समयपछि फोरम चलाउने र छलफल गर्ने पनि भनेका छौं । राजीनामा दिनुपर्ने कुनै कारण छैन ।’

उनले जस्ताको तस्तै एमसिसी पारित गराउने पक्षमा रहेको एमालेमा जानु राम्रो नभएको पनि बताए । 



‘माओवादीले एमसिसी व्याख्यात्मक घोषणाबाट पारित गरेको भन्दै एमाले जाने भन्दै गए । एमाले जसले जस्ताको तस्तै उहिल्यैदेखि पास गर्न खोजेकोमा चाँहि जाने, एमसिसीको सुरुदेखि फुलिस्टप पनि चेन्ज गर्न हुँदैन भन्ने कहाँ जाने । पहिले नै पलायन भइसकेकाको त के कुरा गर्ने, जो इमानदार कम्युनिस्ट हुन् तीमध्ये यो विचारलाई अझै व्यवस्थित बनाउने भन्ने जिम्मेवार कमरेडहरू हामीसँग हुनुहुन्छ । अघि बढ्नुभएको छ’, प्रचण्डको भनाइ छ ।

  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार १२:२४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया