नेपाली कांग्रेस धनुषाको अन्य पदाधिकारीमा पनि विमलेन्द्र निधि समूहका उम्मेदवार विजयी भएका छन् ।
१४ औं अधिवेशनअन्तर्गत धनुषाको सम्पन्न मतगणनामा निधि समूहको तर्फबाट उपसभापतिद्वय गणेश झा र लक्ष्मी नारायण यादव निर्वाचित भएका छन् । झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत पाएका छन् ।
देउवा समूहको तर्फबाट उपसभापति पदका उम्मेदवारहरू सुरेन्द्र प्रसाद मुन्नाले ७९८ र रामसोभित दाहा धानुकले ७६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपसभापतिका अन्य प्रत्यासीहरू डा. शेखर कोइराला समूहका गणेशप्रसाद जयसवालले ७०८ र हरिशंकर साहले ५९६ मत पाएका छन् ।
उता, नयाँ कार्यसमितिको सचिव पदमा भने निधि समूहकै कन्हैयाकुमार कर्ण र देवेन्द्रकुमार भरखेर विजयी भए । कर्णले १ हजार १६० र भरखेरले १ हजार १७७ मत ल्याएका छन् ।
देउवा समूहका तर्फबाट सचिव पदका उम्मेदवारहरू धीरेन्द्र मोहन झाले ८३३ र शिवशंकर गोइत साधुले ८३२ मत प्राप्त गरेका छन् ।
यसअघि सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भईसकेका छन् ।
गत शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका हुन् ।
दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो । योगेन्द्रले १ हजार ७३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १ हजार ४६ मत पाए । ३३ मत भने बदर भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।