वीर अस्पतालकाे आकस्मिक कक्षबाट पूर्वलडाकुको चेतावनी: आन्दोलन चर्काउँछाै‌ं
तस्विर: सागर चन्द/ फरकधार

काठमाडौं– पूर्वमाओवादी लडाकुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । मंसिर २७ गतदेखि माईतिघरमा आमरण अनशन बसिरहेका लडाकुलाई गत राती प्रहरीले धरपकड गरेर वीर अस्पताल पुर्याएपछि उनीहरु आक्रोशित भएका हुन् ।

वीर अस्पातल पुर्याइपनि उनीहरुले डाक्टरलाई परिक्षण भने गर्न दिएका छैनन् । उनीहरुले आफुहरुलाई माईतिघरमै पुर्याइदिनुपर्ने माग राखेका छन् । पुस २ गते अनशनमा रहेका संग्रामे सार्की र मगंलसिंह प्रजाको स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि गुहार गर्दा सरकारले डाक्टर नपठाएको तर अहिले धरपकड गरेर अस्पताल ल्याएकोमा पूर्वलडाकुले आक्रोश पोखेका हुन् ।

जुम्लाका पूर्वलडाकु ज्ञान बहादुर रोकाया भन्छन, ‘हिजो चेक गरिदेउ भन्दा सरकारले डाक्टर पठाएन, अनि अहिले अपहरणको शैलिमा अस्पताल ल्याएर हामीलाई यहाँ राखिएको छ ।’ वीर अस्पतालको आकस्मिक कक्षमा राखिएका अनशनरत ६ जना लडाकुलाई एउटा बेडमा दुई/दुई जना राखिएको छ । उनीहरुलाई वीर अस्पतालको आकस्मिक कक्षको बेड नम्बर १६, १७ र १८ मा राखिएको छ ।

अनशनरत लडाकुले वीर अस्पतालको आकस्मिक कक्षमै अनशन सुरु गरेका छन् । अस्पतालमै अनशन सुरु गरेपनि अस्पताल प्रशासनले भने उनीहरुलाई अस्पतालभित्र पोष्टर र फ्लेक्स टाँस्न नदिने बताएको छ । काठमाडौंमा आन्दोलन चर्काउने भन्दै कर्णाली र सुदुरपश्चिमबाट पूर्वमाओवादी लडाकुहरु काठमाडौं आईरहेका छन् । आन्दोलनका लागि भन्दै सुदुरपश्चिमबाट ५० भन्दा धेरै लडाकु काठमाडौं आईसकेको मुगुका पूर्वलडाकु विष्णु बहादुर कार्की ‘विमल’ले जानकारी दिए । 



सरकारले अनशनरत पूर्वलडाकुलाई धरपकड गरेर अस्पताल ल्याएपछि लडाकुलाई योगं कमिन्युष्ट लिग(वाईसिएल)का अध्ययक्ष दिपशिखा लगायतका नेताहरुपनि अस्पताल पुगेका छन् । यससँगै पूर्वमाओवादी लडकुले गृहमन्त्रीसँग वार्ता नगर्ने बताएका छन् । गृहमन्त्रीले षडयन्त्रपूर्वक पूर्वमाओवादी लडाकु युवराज वि.क‍लाई पक्राउ गरेको र लडाकुका मागप्रति कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले गृहमन्त्रीसँग वार्ता नगर्ने बताएका छन् ।

पूर्वलडाकु प्रदिप परियार ‘महान’ भन्छन ‘अब हामी गृहमन्त्रीसँग वार्ता गर्दैनौ ।’ लडाकुहरुले नेपाल कमिन्युष्ट पार्टीका पार्टी अध्ययक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्रै वार्ता गर्ने बताएका छन् । सरकारले यथासक्य चाँडो लडाकुका माग सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी पनि उनीहरुले दिएका छन् ।



वीर अस्पतालको आकस्मिक कक्षमा ‘महान’ले भने, ‘सरकारले हाम्रा माग सम्बोधन गरेन भने हामी तुरुन्तै आन्दोलन चर्काउँछौ, पहिले पनि हामी गोली खाएर हिडेका हौँ अहिले पनि खान तयार छौ ।’ जनआन्दोलन तथा जनयुद्धका घाईतेको तत्काल उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने, घाईतेलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्नुपर्ने र गणतन्त्र सेनानी परिचय पत्र दिनुपर्ने लगायतका ५ बुँदे माग उनीहरुले सरकारसँग राखेका छन् ।

आजै पत्रकार सम्मेलन गरेर लडाकुहरुले गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजीनामा समेत माग गरेका छन् । लडाकुले जारी गरेको विज्ञप्तीमा मंसिर २७ गते पक्राउ परेका युवराज विकको निर्सत रिहा, आमरण अनशनमा रहेका लडाकुको जीवन रक्षा र घाईते तथा अपागंहरुको रेखदेखकका लागि तत्काल कार्यदल गठन गर्नुपर्ने माग उनीहरुकाे छ ।


  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १३:४१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया