संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।
बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बताए । उनले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालाहरूलाई जारी गरिने बताए ।
‘आज सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषदबाट विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएर आएको छ । त्यसको लागि आज प्रथम बैठक बसेको हो । प्रथम बैठकमा हामीले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना हामीले जारी गर्नुपर्छ,’ समिति सभापति कर्णले भने, ‘जनरल पब्लिक लगायत सबै सरोकारवालाहरुसँग त्यो सूचना जारी गर्ने आज हामीले निर्णय गर्यौं । भोलिदेखि सूचना जान्छ । र, १० दिनभित्रमा यो आएपछि हामी बसेर सुनुवाइको काम प्रारम्भ गर्नेछौँ ।’
उनले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरूमा जाने पनि जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।