विखण्डनको स्वरमा प्रधानमन्त्रीको निरीहता दुर्भाग्यपूर्ण : कमल थापा

नेपालगञ्ज– राप्रपा अध्यक्ष कमल थापाले राष्ट्र विखण्डनको स्वरमा प्रधानमन्त्रीको मौनता र निरीहता दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले परिवर्तनपछि देशले काँचुली नै फेर्छ भनेर विश्वस्त रहेका जनताको विश्वासमा तुषारापात भएको बताए । अध्यक्ष थापाले यो दोष कुनै पार्टी वा नेताको मात्र नभएर नीति र व्यवस्थाकै दोष भएको ठोकुवा गरे । गलत नीति र व्यवस्थालाई सुधार गर्न आवश्यक भइसकेकाले त्यसको नेतृत्व राप्रपाले गर्ने उनले बताए ।

हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुकेको भन्दै अध्यक्ष थापाले खुलेआम राष्ट्र विखण्डनको नारा लाग्दा होस् या निर्मला पन्त हत्या प्रकरणमा, या ३३ किलो सुन प्रकरणमा, दुईतिहाइको सरकार पूर्ण असफल भएको पुष्टि भइसकेको ठोकुवा गरे ।

यस्तो अवस्थामा राप्रपाले अंगिकार गरेका एजेन्डाको महत्व अझ बढेर गएको अध्यक्ष थापाले बताए । विगतको चुनावमा एजेन्डाका कारण पार्टी नहारेको बताउँदै उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससँगको सहकार्यमा कांग्रेसले इमानदारी नदेखाएको, पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको, पटक–पटक सरकारमा गएको जनतालाई चित्त नबुझेको, संगठन कमजोर भएको तथा पर्याप्त साधन र श्रोत नभएका कारण पार्टीले पराजय भोग्नुपरेको बताए । विगतका त्रुटि र कमजोरीलाई सच्याएर अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । 

कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र लिङदेन, धवलशमशेर राणा, प्रेमबहादुर भण्डारी, गीता बस्नेत, नारायणबहादुर सिंह, महेशबहादुर सिंह, नरेन्द्र पौडेल लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।





  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १६:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया