[अन्तर्वार्ता] ठूला सहरको मेयरमा गठबन्धनबीच तालमेल हुन्छ, एमसिसी ५ वर्षमा असम्भव

नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन सकेको ३ महिना पुग्दापनि अझै पदाधिकारी चयन गर्न सकेको छैन । अमेरिकी विवादित परियोजना एमसिसीबाट पारित भएसँगै त्यसमाथि उठेका बहसलाई पाखा लगाउँदै यतिबेला सिंगो पार्टी चुनाव केन्द्रित भएको छ ।

पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठक राखेर ५० जना थप केन्द्रीय कमिटी मनोनित गरेको माओवादीले पदाधिकारीको विषय पनि चुनावअघि नटुंग्याउने संकेत गरेको छ।

आगामी निर्वाचनसम्म गठबन्धन टिक्ने कि नटिक्ने भनेर विभिन्न टीकाटिप्पणी हुँदै गर्दा गठबन्धनभित्रकै नेताहरुका कुरा बाझिएका छन् । निर्वाचन र यसअघिका राजनीतिका विषयमा केन्द्रित रहेर हामीले माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्य गणेश साहसँग कुराकानी गरेका छौं । 

उनले रणनीतिक महत्व बोकेका सहरहरूमा गठबन्धनबीच सहमति हुने दाबी गरेका छन् । 

प्रस्तुत छ साहसँग गरिएको कुराकानीको सम्पादित अंश:

०६२/०६३ को जनआन्दोलन सकिँदाको माओवादी र प्रचण्ड झण्डै १५ वर्षपछि एउटा सानो कोठामा छिरेको मुसाजस्तो भयो भन्ने गरिन्छ । के माओवादी अब सकिन लागेको हो ? 



नेपालको राजनीतिमा हरेक १०/१५ वर्षमा नयाँ कोल्टे फेर्ने गरेको छ । नयाँ नयाँ शक्तिको उदय र पुराना शक्तिहरु आफ्नो एउटा लेभलमा बस्ने गरेको छ । पहिलो जनआन्दोलन, २०४६ सालको कुरा गर्ने हो भने त्यो भन्दा अगाडि नेकपा माले थियो । पछि नेकपा एमाले भनेर आयो । त्यो भन्दा अगाडि नेपालमा कांग्रेसको प्रजातान्त्रिक शक्ति थियो । त्यतिबेला प्रजातन्त्रको पुन:स्थापनाकाे कुरा बढी लोकतन्त्रको कम हुन्थ्यो । त्यसपछि नेकपा एमाले आयो । 

०५२ सालमा मनमोहनजीको अध्यक्षतामा एमाले अघि बढ्यो । त्यसपछि हेर्दापनि विभिन्न खण्डमा आन्दोलनहरु भएको छ । ०६२/०६३ पछि नेपालमा एउटा चरणको कार्यभार पूरा भयो । त्यसपछि नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपाल बन्यो । त्यसको श्रेय नेकपा माओवादी केन्द्रलाई छ । 



माओवादीका नेताहरू चाहे सुदूरपश्चिमकको कुरा गर्नुस चाहे मधेस प्रदेशको । हामीले ०६२/६३ को आन्दोलनपछि नयाँ संविधान बनाउने, संविधानमा स्थानीय सरकारको, संघीय सरकार र प्रदेश सरकारको चुनाव गराउने । चुनावमा वामपन्थीलाई मोर्चागत रूपमा जिताउने इतिहास पनि यही पार्टीसँग छ । वर्तमान अवस्थामा हामी कता जान्छौं भन्ने प्रश्न छ । 

म जुन पृष्ठभूमिबाट आएको छ र हेर्दैगर्दा भन्छु- अहिले पनि सामन्तवादको अवशेषहरू बाँकी छन् । सामन्तवाद नै राजालाई भन्थ्यौं, राजतन्त्र समाप्त भयो भने सामन्तवाद पनि समाप्त भयो भन्ने पनि छ । हाम्रो राजनीतिक स्ट्रक्चर चाँहि चेन्ज भयो । तर, आर्थिक सामाजिक रूपमा चाँही सामन्तवादका अवशेषहरू बाँकी भए । त्यसको लागि नेपालको कम्युनिस्ट आन्दोलनले जुन किसिमले गर्नुपथ्यो, त्यो अगुवाइ गरेन । समाजको वाम एकताका लागि हामी नै लड्यौं ।

पछिल्लो ५ वर्षमा सत्तामा कसरी पुग्ने भन्ने मात्र केन्द्रित भयो । नेपालको वाम आन्दोलनले आफ्नो धार छाड्दै गयो । त्यो सत्तामा केन्द्रित भयो । त्यसले लोकतन्त्रको जग पनि बलियो हुन सकेन । वाम आन्दोलन जुन किसिमले अघि बढ्नुपर्थ्याे त्यो बढेन । वाम आन्दोलनले लोकतान्त्रिक आन्दोलनको वामतिर लाग्ने प्रयासमा हामी चुकेको हो । 

प्रचण्डजी वा नेकपा माओवादी मुसा हो कि शेर हो ? भन्ने प्रश्न जु्न छ । हरेक समयमा इतिहासको कालखण्डमा एउटा जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारी पूरा गर्दैगर्दा उसलाई इतिहासले कमजोर देखाएको हुन्छ । माओवादी भनेकै उग्र वामपन्थको परिचय छ । त्यो बाट कसरी वाम लोकतान्त्रिक पार्टीको रुपमा रहने भन्ने चुनौती छ । सामन्तवादको अवशेष नेपालमा जुन किसिमको व्यवस्था परिवर्तन पछि कुनै देशमा प्रतिक्रान्ति भयो, यहाँ प्रतिक्रान्ति त भएन । यसलाई मन नपराउने शक्तिहरूको प्रबुद्ध बढ्यो । 

०६२/०६३ पछि हाम्रा दुवै छिमेकीको आर्थिक प्रगति वा अमेरिकाको पनि विश्व व्यवस्थामा परिवर्तन ल्याउने खालको छ । नेपालको भूराजनीति जुन छ, हाम्रो अगाडि आएको अर्थतन्त्र छ । त्यसको बीचमा बस्दा कुनै बेला सबैभन्दा बढी अमेरिकी साम्राज्यवाद मुर्दावादको नारा लगायौं । प्रचण्डजीले कहिलेकाहीँ भन्नुहुन्थ्यो- यहाँ बन्ने ओलीजीको सरकार भनेको छिमेकीहरूलाई कम्फरटेबल हुन्छ । भनेको के हो भने, समग्रमा विश्व व्यवस्था, र त्यसमा पनि एसियाको जुन परिवर्तन भएको छ त्यो अवस्थामा नेपालमा उग्र वामपन्थबाट आएको आन्दोलनलाई अझैपनि स्पष्टताका साथ आउन सकेको छैन । 

पार्टीको आठौं महाधिवेशनमा हामीले नेपाललाई समाजवाद उन्मुख बनाउने भनेका छौं । त्यसको पनि अझै पनि खाका, आन्दोलन, आर्थिक आन्दोलन चलाउने बारेमा अझै पनि स्पष्टता छैन । सानो प्रोफाइलमा बसे पनि आफ्नो पार्टी संगठन बलियो बनाउनेतर्फ प्रचण्ड लाग्नुपर्छ । 

एकातिर रुसले युक्रेनमाथिको आक्रमण, अर्कोतर्फ सी जिन पीङले अवलम्बन गरेको उदार अर्थनीति । तर, नेपालका कम्युनिस्टहरू चाँहि किन जागरण, सामन्तवादी, साम्राज्यवादी, क्रान्ति, प्रतिसंघर्ष, आत्मालोचना जस्ता शब्दहरूलाई प्रयोग गरेर नेपाली समाजलाई अलमल्याइरहेको छ । अहिलेको क्षणमा कम्युनिस्ट आन्दोलनमाथि नै प्रश्न गर्ने बेला आएको होइन ? 

रुस र युक्रेनको जुन युद्ध भयो । त्यो युद्धको पछाडिको इतिहास पनि केही छ। कुनै जमाना हामी एउटै देशको नागरिक हो । अहिले त्यहाँ द्वन्द्व भएको छ । नेपालले कस्तो खालको परराष्ट्र नीतिमा जाने हो भन्ने ख्याल राख्नुपर्छ । हाम्रो परराष्ट्र नीति चाँहि असंलग्न छ । यो गर्दा कहीँ न कहीँ डिबेट भएको जस्तो देखिन्छ । दोस्रो नेपालको कम्युनिस्ट आन्दोलन । म करिब २ वर्षदेखि मार्क्सवादकाे उत्पत्ति, लेनिनवाद भनौं त्यो सबै औद्योगिक क्रान्तिसँग जोडिएको छ । हामी जतिखेर माक्सवादको उत्पत्ति भयो विश्व दोस्रो औद्योगिक क्रान्तिको चरणमा थियो । लेनिनको विषयमा जुन छ, अहिले हामी औद्योगिक क्रान्तिको चौंथो चरणमा छौं । हामी कहिले ग्लोबल भिलेजको कुरा गर्छौं । 

युक्रेन र रुसको युद्ध भयो, हामीकहाँ खाने तेलसम्म अभाव हुन थाल्यो । हिजो हामी किसानले नै उत्पादन गरेर त्यो धानेका थियौं । औद्योगिक क्रान्तिले गर्दा सम्पूर्ण मार्क्सवादको विषयमा पुनर्विचार गर्नुपर्ने भएको छ । यसले हाम्रो उत्पादकत्वमा समस्या आएको छ । स्वामित्वको सन्दर्भमा पनि कम्युनिस्टहरूले बढी लिएको देखिन्छ । हिजो कम्युनिस्टहरूले जे कुरा पनि सरकारको स्वामित्वको कुरा गरे, त्यसपछि हामी सहकारीको कुरा गर्‍याैं । 

सी जीङ पीङले निजी स्वामित्वको पनि कुरा भयो । त्यसकारण यो बेलामा नेपालको कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरू मिलेर जानुपर्ने छ । हामी कहिलेकाँही जलवायू परिवर्तनको प्रभावले विपद्को सामना गर्नपरेको छ । विपदमा न कम्युनिस्टले बुझ्छ न कांग्रेसले । अहिलेको विषम परिस्थितिमा नेपालको एसिया परिवेशमा के कत्रो आन्तरिक नीति अवलम्बन गर्ने ? खासगरी परराष्ट्र नीतिको बारेमा गहन अध्ययन छलफल हुनुपर्छ । परराष्ट्र नीतिमा विभेद हुने देखिएको छ । त्यसकारण एक खालको नीति सम्हाल्नपर्ने देखिएको छ ।

नेपालजस्तो मुलुकले तथ्यमा आधारित नीति अवलम्बन गर्नुपर्छ । विज्ञान कुटनीतिको अहिले सबैभन्दा बढी आवश्यकता छ । तथ्य र आधारमा रहेर भनिएका कुराहरू मात्र सुनिन थालेका छन । नत्र कुनै कुरा सुनिँदैन । नेपालको लोकतान्त्रिक र वाम शक्तिहरूले औद्योगिक क्रान्तिको चौंथो चरणले ल्याएको परिवर्तनलाई कसरी उपयोग गर्ने ? कसरी जनताको जीवनसँग जोड्ने भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ । देख्नलाई यो सजिलो जस्तो लाग्छ तर यो धेरै चुनौतीपूर्ण छ । हामी सामन्तवाद हटेर गयो भन्छौं तर त्यसबाट उन्मुक्ति पाउनका लागि चाहिने उद्यमशीलताको विकास हाम्रोमा निकै कमी छ ।

नेकपा माओवादी केन्द्रले ३ दशकदेखि एउटै मान्छेलाई अध्यक्षमा मानिरहेको छ । तपाईं आफैं राजनीतिमा सामन्तवाद हट्यो भन्नुहुन्छ । यो त तालमेल मिलेन नि?

सामन्तवादको राजनीतिक चाँहि राजा वा गणतन्त्रमा हामी गयौं । तर, सामन्तवादको ठूलो अवशेष चाँहि बाँकी रह्यो । जीवनको हरेक क्षेत्रमा, जस्तो कि सम्पत्तिको बाँडफाँट, हामी कम्युनिस्ट भन्छौं धर्म र संस्कृतिको नामबाट मुक्त हुन सकेका छैनौं । अझै पनि ठूलो उत्पादन प्रणालीमा ध्यान दिन सकेका छैनौं । 

एउटै व्यक्ति लामो समयसम्म पदमा रहिआएको छ भन्ने तपाईंको प्रश्नमा केन्द्रित हुन्छु । नेपालको कम्युनिस्ट आन्दोलनमा कहिलेकाहीँ यसलाई समयको माग पनि भनिन्छ । कहिलेकाहीँ यसलाई बाध्यात्मक पनि भनिन्छ । आजको दिनमा प्रचण्डजीको विकल्पमा नेकपा माओवादी केन्द्रमा कोही छैन । त्यतिमात्र होइन, उहाँसँग जोडिएका पदाधिकारी, कोर टिम पनि बनाउन नसकेकाे अवस्था छ । 

आजको नेकपा माओवादी केन्द्रको अगाडि सबैभन्दा ठूलो चुनौती छ भने आफ्नो पार्टीको संगठनलाई कसरी व्यवस्थित गर्ने ? कसरी सबै संरचना निर्माण गर्ने ? कसरी पार्टीका सबै सदस्यको अभिलेखीकरण गर्ने ? कसरी कार्यकर्तालाई परिचालित गर्ने भन्ने चुनौती हो । हाम्रो पार्टीको अहिले करिब ९ लाख सदस्यको अभिलेखीकरण गरेका छौं । सबै पालिकाको पदाधिकारी कोको निर्वाचित भए भनेर अभिलेखीकरण गरिरहेका छौं । हामी तिनीहरूलाई संगठनमा बाँध्ने काम गरेका छौं । 

हिजो पार्टीमा डिसिएम पावरफूल हुन्थयो, अहिले पालिकामा अधिकार गयो । पार्टीभित्र पुन:संरचनाको कार्यक्रम अघि बढेको छ । यसले पार्टीको भविष्य निर्धारण गर्छ । यदि समयमा नै संरचनालाई बलियो बनाइयो भने प्रचण्डजी नहुँदा पनि चलिरहन्छ । अब सायद नेपालको राजनीतिले युवा वर्गको नयाँ नेतृत्वको खोजी छ । दुर्भाग्य जुन किसिमले पार्टीभित्रबाट प्रस्फुटित हुनुपर्ने थियो, त्यो काममा कम्युनिस्ट आन्दोलन चुक्यो कि? 

कम्युनिस्ट आन्दोलन चुक्नुको कारण प्रचण्ड वा तपाईंको पार्टी नै होइन र ? अघिल्लो प्रतिनिधिसभा संघीय निर्वाचनमा जाँदा कम्युनिस्ट घटक एक हुनुपर्छ भनेर नेकपा बनाउनुभएको थियो । केपी शर्मा ओलीलाई आफ्नो नेता र अध्यक्ष मान्नुभएको थियो । तपाईंहरू त्यसैमा गर्व गर्नुहुन्थ्यो । वामपन्थी दल एक भए, अब कसैले हल्लाउन सक्दैन भन्नुहुन्थ्यो । वामपन्थीहरू/माओवादीहरू हिजो एक्लै हुँदा र पछि पनि पदलोलुप बढेको जस्तो देखिन्छ ? माओवादीको चाहना सत्ता, शक्ति र पदमा रहिरहनु हो ?

पहिलो त म अलिकति सच्याउँछु । म आफैं जुन दिन पार्टी एकता घोषणा भयो, त्यो अघि खुमलटारमा बसेको बैठकमा सहभागी थिएँ । त्यहाँ भनिएको थियो- आधा समय केपीजी अध्यक्ष र प्रधानमन्त्री हुने तर आधा समय चाँहि प्रचण्डजी हुने । प्रधानमन्त्री हुनेले सरकार चलाउने अर्को अध्यक्षले पार्टी चलाउने सहमति भएको थियो । कम्युनिस्ट आन्दोलनमा नयाँ एक्पेरिमेन्ट थियो । दुर्भाग्यका साथ भन्नुपर्छ, त्यो सम्बन्ध कटुतापूर्ण रहन पुग्यो । मुख्य कुरा सहमति गर्नु हुन्न थियो । सहमति भएपछि त्यो अनुसार चल्नुपर्छ । इतिहासको कालखण्डमा एकअर्कासँग मिलेर एक बनाउन खोजेका थियौं । दुर्भाग्य अहिले ३ वटा भएको छ । यो नेपालको कम्युनिस्ट आन्दोलनको दुःखद पक्ष हो । 

सत्तामा गएपछि हामी समाजलाई बढी परिवर्तन गर्न सक्छौं भन्ने सोच छ । त्यो सोचले हामी कुन कन्टेक्समा कुनसँग गर्‍याैं भन्ने छ । हामीले यो दुइवटै कम्युनिस्ट भन्छौं, तर दुईटैको स्कुलिङ, हुर्काइ, सोचाइ अलगअलग छ । एउटा केही समयमात्र सशस्त्र संघर्ष भएकाे जसलाई हामी झापा आन्दोलन भन्छौं । त्यसपछि संसदीय व्यवस्थामा गयो । र, हामीले समृद्धिको बाटोमा ठूलो कुरा गर्नेतर्फ गयौं । अर्को के भने, सशस्त्र संघर्षबाट आएर फेरि संसदीय माध्यमबाट बढीभन्दा बढी काम गर्नेतिर लाग्नपर्ने भयो । यो देशमा संघीय गणतन्त्र नेपाल कसले बनायो भन्दा प्रचण्डको नाम अग्रणी रूपमा आउँछ । नेपालको आजको वर्तमान अवस्थामा यो वर्ष निर्वाचन वर्ष हो । 

सबै नेताको परीक्षा चाँहि अब हुने भनिएकाे चुनावबाट मात्र हुन्छ । यो परीक्षामा कसले के परिणाम ल्याउँछ, त्यसले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउँछ। हरेक चुनावले राजनीतिलाई नयाँ ध्रुवीकरण गरेको इतिहास छ । योभन्दा अगाडिको निर्वाचनमा प्रचण्ड, ओली र बाबुरामजीहरूले घोषणा गरे । उहाँहरू बीचमै छुट्नुभयो । मधेसमा एउटा शब्द छ- खट्टामिठ्ठा । कहिले खट्टा अमिलो भयो भने पनि त्यो मिठो हुन्छ । अहिले आन्दोलन के भयो भने- खट्टामिठ्ठाको सट्टा मिठ्ठाखट्टा भयो । नेपालको राजनीतिक आन्दोलनमा कम्युनिस्टहरूले ठूलो पाठ सिक्नुपर्छ- हामीले कुनै सम्झौता गर्‍याैं भने त्यसलाई पूरा गरेकाे खण्डमा मात्र हामी कम्युनिस्ट हुन्छौं । 

प्रचण्डले हिजो एमसिसी कार्यालयमा चिठी पनि लेखे, जनवर्गीय संगठनलाई सडकमा पठाए । अब व्याख्यात्मक टिप्पणीपछि अमेरिकी सेना काठमाडौंमा आउँदैन भन्ने हो ? प्रचण्डमाथि यी सबै कुरा हेरिसकेपछि माओवादी केन्द्र जनताप्रति वफादार छ र सुदृढीकरण हुन्छ भनेर कसरी बुझ्ने? 

तपाईंले भनेजस्तो केही भ्रम पनि छ । प्रचण्डजीले एमसिसी हेडक्वार्टरलाई लेखेको चिठी पार्टीमा जानकारी छ । हामीले चिठी लेखेको छौं, त्यसलाई बाहिर नल्याउने भन्ने भएको छ । यो वर्ष चुनावको वर्ष हो । सबै पार्टीले हामी एक नम्बरको हुन्छौं भन्छ । कसैले कांग्रेस १ र माओवादी दोस्रो पनि भन्छ । अहिलेको टकराव भनेको गठबन्धन भर्सेस एमाले हो । कहिलेकाहीँ- इनेमी इज द फेन्ड भनिन्छ । अहिले एमालेसँग कांग्रेस पनि त्रसित छ । यो प्रयास त एमसिसीसँग पनि देउवाजी आफैं ओलीजीकहाँ पुगेर पनि गर्नुभयो । अब यो सबैको फैसला जनताले गर्छन । यो तीनै तहको निर्वाचनमा यो सबै हुन्छ । 

यो निर्वाचनको मुल एजेण्डा भनेको भ्रष्टाचार पनि हराउँछ, जनजीविका पनि हराउँछ । एमसिसीले नेपाली जनतालाई कतिको लाभान्वित बनाउँछ भन्ने कुरा हेर्नैं बाँकी छ । व्यक्तिगत रूपमा म के भन्छु भने, एमसिसी ५ वर्षमा पूरा हुन असंभव नै हो । नेपालको राजनीति, प्राविधिक क्षमता लगायका कुराहरूले यो संभव छैन भन्ने मलाई लाग्छ । दुर्भाग्य, गरिदिएको एमसिसीको कुरा हुन्छ, वर्षा कहाँ हुन्छ थाहा छैन । एमसिसी एकथरीले राष्ट्रघाती भनेको छ अर्कोले राम्रो भनेकाे छ । को ठिक को बेठिक भन्ने थाहा पाउनका लागि ८/९ महिना कुर्नैपर्छ । 

हिजो पार्टीको केन्द्रीय समितिको निर्णयमा अध्यक्षज्यूले निरन्तरता पाउनुभयो । नारायणकाजीले त्यो दूरगामी प्रभावका बारेमा भन्नुभयो । ३ जना नेताले सामान्य एक पेजको फरक मत पार्टीमा दर्ज गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले यो बारेमा जेठ २० गतेपछि यसको समग्र बारेमा जेठ २० गतेपछि अझै छलफल अघि बढाउने भन्ने भएको छ । यो एमसिसी नेपालको राजनीतिको लामो समयसम्म पक्ष र विपक्षको छलफल चलिरहन्छ । यसैमा म के भन्छु भने, अहिले विश्वभरि सार्वभौमिकता, स्वतन्त्रता र सुरक्षामा एउटा ऊर्जा भन्ने कुरा प्रमुख कुरा हो । एमसिसीमा ऊर्जाको जुन प्रावधान छ, नेपाली समाजलाई कुन किसिमले अघि बढ्छ भन्ने अझैपनि छलफलको विषय बन्छ भन्ने मलाई लाग्छ ।
 
अब गठबन्धन भए, कांग्रेसले माओवादीसँग मिलेर चुनावमा गएन भने त समस्या पर्ला नि होइन ?

मैले व्यक्तिगत रूपमा भन्नुपर्दा अहिले नै कांग्रेससँग माओवादीको वा समाजवादीको सिटको तालमेल हुने कुरामा विश्वास छैन । अहिले एउटा मेयर कुनै प्रदेशको मन्त्रीभन्दा बढी शक्तिशाली छ । अहिले चाँहि धेरैले यो कुरा बुझेका छन् । महानगरपालिकाको मेयर या केही रणनीतिक सहरको मेयर शक्तिशाली हुन्छ । त्यो ठाउँमा गठबन्धनको बीचमा एउटा समझदारी विकसित हुन्छ । कुन स्तरको समझदारी हुन्छ भन्ने मलाई लाग्छ ।

राष्ट्रिय महत्वको ठाउँमा गठबन्धनको बीचमा सहमति हुन्छ । मुलरूपमा आगामी एक वर्ष माओवादी केन्द्र र प्रमुख नेताको रूपमा प्रचण्डजीमाथि उसको कौशल क्षमता परीक्षाको घडी पनि हो । यो परीक्षा पास गर्नुभयो भने एक किसिमको हुन्छ । फेल भयो भने अर्कोतर्फको हुन्छ । जुन निर्वाचनको लगत्तै, जति चोटि निर्वाचन भएको छ, त्यसपछि नेपालको वाम आन्दोलनमा ध्रुवीकरणको प्रक्रिया सुरु भएको छ । त्यो कुन रूपमा अघि बढ्न यो निर्वाचनको परिणामले तय गर्छ ।    

पार्टी पदाधिकारीको विषयसम्म माओवादी टुंग्याउन सकेको छैन । निर्वाचन नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दलले बलिया संगठन बनाउँदै अघि बढ्दैगर्दा माओवादीमा त यस्तो केही देखिँदैन नि ? यसले निर्वाचनमा धोका दिन्छ होला नि होइन ?

निर्वाचनमा अहिले हामीले प्रदेश इन्चार्ज तोकेका छौं । प्रदेशका अध्यक्ष छन् । कमिटी छ । पदाधिकारी छ । बाहिरी मान्छेलाई केन्द्रीय पदाधिकारी नहुँदा घाटा लाग्छ भन्ने छ । मलाई त्यस्तो लाग्दैन । नेपालमा कृष्णप्रसाद भट्टराईलाई मदन भण्डारीले हराउनुभएको इतिहास छ । अहिलेको पुस्ताले निर्वाचनलाई कसरी हेरिरहेको छ । अहिले कसले कति प्रविधिको उपयोग गर्छ निर्वाचनमा भन्ने कुराले धेरै कुरा निर्धारण गर्छ । चुनाव पहिले चाँहि हामी पैसाको कुरा गर्थ्याैं । यसले मात्र धरासायी भइहाल्छ भन्ने मलाई लाग्दैन । 

माओवादीलाई अबको चुनावपछि कुन स्थानमा देख्न पाउँछौं ? 

यो त इतिहासले देखिन्छ । जुन किसिमले हामी महाधिवेशनअघि संरचनामा परिवर्तन ल्याएका छौं । तीनवटा कुरा परिवर्तन भएको छ । केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला ल्याएका छौं । यी महिलाले महिलासँग गएर यो पार्टी महिलामैत्री छ भन्नुपर्‍याे । 

हाम्रो प्रदेश कमिटीमा पनि ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र २० प्रतिशत युवा विधानको प्रावधानमा छ । यसले चुनावमा चाँहि सकारात्मक परिणाम दिनुपर्छ । ०५२ सालमा पनि एमाले त्यसरी आउँछ भन्ने सोचेको थिएन, माओवादी पनि शान्ति प्रक्रियापछि त्यसरी आउँछ भन्ने थिएन । 

नेपालको भोटको राजनीतिलाई कुन तत्वले प्रभाव पार्छ भन्ने बुझ्न बाँकी छ । पार्टीभित्र धेरै समस्या र चुनौती छन् । नेतृत्वले विस्तारै सम्बोधन गर्ने प्रयास जारी छ । जुन परिवर्तन हामीले विधानमा ल्याएका छौं । त्यसले धेरै सकारात्मक परिणाम ल्याउँछ ।

  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार १८:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया