धनगढीका मेयरलाई जातीय विभेद गर्ने युवकलाई दुई महिना कैद
सांकेतिक तस्बिर

कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिने एकजनालाई अदालतले २ महिना कैद सजाय सुनाएको छ । सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै ती युवकलाई उच्च अदालत दिपायलले २ महिना कैद सजाय सुनाएको हो ।

उच्च अदालत दिपायलका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दासमेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ ।

२७ वैशाख २०७७ मा कैलाली बोराडाँडीका ओमप्रकाश पाण्डेले फेसबुक पेजमार्फत मेयर वडलाई लक्षित गर्दै ‘जात करे उत्पात भनेको यही हो’ भन्दै सामाजिक सञ्जालमा लेखेर जातीयरूपमा विभेद गरेको भन्दै उजुरी परेको थियो ।

त्यति बेला पतिराम सोवसहित ४ जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । सो मुद्दामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई ५ सय रुपैयाँ जरिवाना मात्र गरेको थियो ।

उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई २ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । कैलाली जिल्ला अदालतले पुरानो कानुनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ । 





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार ११:३३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया