हिरासतबाटै पूर्वलडाकु भन्छन्– आन्दोलन तुहाउन सरकारले षड्यन्त्र गर्यो

काठमाडौं– मंसिर २७ गते पक्राउ परेका पूर्वमाओवादी नेता युवराज विक ‘रक्तिम’ले आफूलाई फसाइएको बताएका छन् । मंसिर २७ गते महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई सिंहदरबारस्थित गृहमन्त्रालयबाटै पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका युवराजले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । 

गृहमन्त्रालयले षड्यन्त्रपूर्वक आफूलाई फसाएको उनको आरोप छ । पूर्वलडाकु र घाइतेका माग पूरा नगराउने षड्यन्त्रले आफूलाई फसाएको उनले बताए । हिरासतबाटै फरकधारसँग कुरा गर्दै उनले घाइते तथा अपांग भएका पूर्वलडाकुका माग सम्बोधन गर्ने विषयलाई विषयान्तर गर्न सरकारले षड्यन्त्र गरेको आरोप लगाए । 

प्रहरीले उनलाई सामाजिक हितविरुद्धको कार्य गरेको भन्दै पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार युवराजमाथि अहिले सार्वजनिक सुरक्षाको मुद्दा चलाइएको छ । 

मंसिर ५ गते गृहमन्त्रीलाई भेट्न पुगेका पूर्वमाओवादी लडाकु कुलप्रसाद भट्टराईले गृहमन्त्रलायमै विष पिएका थिए । उनलाई विष पिउन उक्साएकाले विकलाई पक्राउ गरेको प्रहरीले बताएको छ । तर, प्रहरी परिसर ललितपुर जावलाखेलको हिरासतमा रहेका युवराज विकले भने आफूले कसैलाई विष खान नउक्साएको बताएका छन् । 

मंसिर २७ गते कुलप्रसाद भट्टराईलाई पुल्चोकस्थित मन्त्री निवासको गेटबाट मेटासिटसहित पक्राउ गरिएको थियो । कुलप्रसाद मन्त्री निवासको गेटबाट पक्राउ परेकै दिन उनले युवराजले उक्साएर विष खाएको बयान दिएपछि युवराजलाई पक्राउ गरिएको थियो । 

कुलप्रसादले गृहमन्त्रीसमक्ष बयान दिएको दिन मंसिर २७ गते आफू बिरामी रहेको र दिनभरजसो प्रचण्डको कार्यक्रममा उपस्थित रहेको फरकधारसँगको कुराकानीमा युवराजले बताए । 



‘त्यो दिन म बिरामी थिएँ, औषधि खाइरहेको थिएँ, अहिले पनि मसँग औषधि छ,’ उनले भने, ‘मंसिर २७ गते म दिउँसो प्रचण्डको कार्यक्रममा अनामनगर हनुमानस्थानमा थिएँ ।’

प्रचण्डको कार्यक्रम सकेपछि गृहमन्त्रालय गएका युवराजले मन्त्रालयमै कुलप्रसादलाई भेटेका थिए । उनलाई त्यहीँबाट ललितपुर प्रहरीले एकछिन कुरा गर्नु छ भन्दै लगेर हिरासतमा राखेको थियो ।



युवारजले भने, ‘मलाई त्यो दिन, प्रहरीले एकछिन कुरा गर्नु छ भन्दै ल्याएका हुन् । ललितपुर हिरासतमा राखिसकेपछि मात्रै मलाई पक्राउ पुर्जी दिए ।’

मंसिर २७ गते युवराज पक्राउ परेपछि पूर्वलडाकुले माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका छन् । अनशनरत ६ जना पूर्वलडाकुलाई प्रहरीले पुस २ गते राति माइतीघरबाट जबर्जस्ती उठाएर वीर अस्पताल लगेको छ ।

१० वर्षे माओवादी जनयुद्ध र ०६२/०६३ को आन्दोलनमा घाइते भएकाहरुको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रस्ट धारणा र नीति नभएकै कारण आज पूर्वलडाकु तथा घाइते, अपांगको जीवन कष्टकर भएको युवराजको धारणा छ ।

प्रधानमन्त्रीको निर्देशन नै टेरेनन् गृहमन्त्रीले

गत असोजमा पनि युवराज तथा अन्य पूर्वलडाकुले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेका थिए । उक्त भेटमा प्रधानमन्त्री ओलीले घाइते लडाकु व्यवस्थापनसम्बन्धी नीति बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिए पनि गृहमन्त्रीले पालना नगरेको युवराजले बताए ।

गृहमन्त्रीको कार्यकक्षमै विष पिएका तथा मन्त्री निवासको गेटमा मेटासिटसहित पक्राउ परेका कुलप्रसाद भट्टराई भने अहिले गृहमन्त्रालयको निगरानी र नियन्त्रणमै छन् । उनलाई गृहमन्त्रीले आर्थिक प्रलोभन देखाएको पनि पूर्वलडाकु बताउँछन् ।

नेकपा भन्छ, ‘हामीलाई केही थाहा छैन ।’

यता, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पूर्वलडाकु, घाइते तथा अपांगको विषयमा पार्टीले हालसम्म कुनै स्पष्ट नीति नबनाएको बताए । 

‘यो विषयमा मलाई त्यति थाहा भएन । पूर्वलडाकु साथीहरुले प्रधानमन्त्री र प्रचण्डसँग भेट गरेको भन्ने कुरा मात्रै थाहा छ,’ फरकधारसँगको कुराकानीमा उनले भने, ‘तर, पार्टीले यस विषयमा अझै केही प्रस्ट धारणा बनाइसकेको छैन ।’

आन्दोलनका लागि लडाकु काठमाडौंमा 

पूर्वलडाकु, घाइते तथा अपांगका माग सम्बोधन नगरेको भन्दै देशभरबाट पूर्वलडाकु काठमााडौं भित्रिने क्रम बढेको छ । सुदूरपश्चिम र कर्णालीबाट पूर्वलडाकुहरु सरकारविरुद्ध आन्दोलन गर्ने भन्दै काठमाडौं भित्रिएका छन् ।

रुकुमका पूर्वलडाकु बुद्धिमान घर्तीका अनुसार अहिलेका काठमाडौंमा करिब २ सयजना पूर्वलडाकु भित्रिएका छन् ।

आजै मात्र काठमाडौं आइपुगेका पूर्वमाओवादी लडाकु पदमराज परियार ‘महान’ले सरकारले पूर्वलडाकु तथा गणतन्त्रतका सेनानीहरुको अपमान गरेर गणतन्त्रकै अपमान गरेको बताएका छन् । 

उनले सरकारले यथाशक्य छिटो पूर्वलडाकु, घाइते तथा अपांगका माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

यता, अनशनरत पूर्वलडाकुले पनि सरकारले आफ्ना माग पूरा नगरेसम्म अनशन नतोड्ने बताएका छन् । 

पूर्वलडाकुहरुले आजै एक प्रेस विज्ञप्ति जारी गर्दै युवराज विकको निःशर्त रिहाइको माग गरेका छन् । २०५६ सालमा रुकुमस्थित सिम्ली प्रहरी चौकीमा प्रहरीको यातना खपेका युवराज विकको यातनाकै कारण स्पाइनल कर्डमा समस्या छ । २०५३ सालदेखि माओवादीमा सक्रिय रहेका युवारज नेताहरुले लडाकुलाई सरकारमा पुग्ने सिँढी मात्रै बनाएकोमा दुःखी छन् । 

आफूविरुद्ध लगाइएको मुद्दाको कानुनी उपचार खोज्ने बताउँदै उनले पूर्वलडाकु, घाइते तथा अपांगको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । 

पूर्वलडाकुहरुले अब गृहमन्त्रीसँग वार्ता नगर्ने बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्रै वार्ता गर्ने उनीहरुले बताएका छन् । 

  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार २२:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया