प्राध्यापकलाई शिक्षामन्त्रीले भने : विश्वविद्यालयमा हडताल बन्द गर्नुहोस्

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकलाई आग्रह गरेका छन् ।

बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताए ।

‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ,’ मन्त्री पौडेलले भने, ‘लामो समयसम्म पढाई अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्यो । प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस् ।’

उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए । प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए । 

विश्वविद्यालयहरू समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने बताए । 

‘विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको ।’ मन्त्री पौडेलले भने, ‘नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ ।’ त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रुपमा विकास गर्ने तयारी रहेको उनले जानकारी दिए । 



‘राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टीकरणका आधारमा केन्द्रिय विश्वविद्यालयको मातहतमा रहनेगरी तयारी गरेका छौं’ मन्त्री पौडेलले भने, ‘उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ ।’

छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयका लागि पहल गरिदिन आग्रह गरे । 



प्राध्यापकको तलबमान सार्क स्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तिभरण उपलब्ध गराउने, स्वास्थ्य सुविधा शिक्षक अस्पताल जस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामति अस्पताल भन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए ।  

लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् । 

  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १५:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया