सडकमा पूर्वलडाकुः युद्धका क्षण सम्झिँदा मुटु पोल्छ

काठमाडौं– मंसिर २७ देखि माइतीघर मण्डलामा अनशन बस्न सुरु गरेका कालिकोटाका मन दर्जी ‘सुशील’ अहिले वीर अस्पतालको आकस्मिक कक्षमा छन् । पूर्वमाओवादी लडाकु दर्जीले आफ्नो पीडा र व्यथा सरकारलाई सुनाउन कालिकोटदेखि काठमाडौंसम्मको यात्रा तय गरेका हुन् । तर, सरकारले उनको व्यथा सुनेन । 

निरन्तर ओरालो लागिरहेको काठमाडौंको तापक्रमसँगै दर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरील पुस २ गते राति दर्जीसँगै अनशनमा बसेका अरू पाँचजनालाई पनि वीर अस्पताल पुर्यायो ।

अनशन बसेका पूर्वलडाकुलाई अपहरण र धरपकडको शैलीमा अस्पताल पुर्याएको बताउने लडाकुले खुला आकाशभन्दा अस्पतालको शय्यामा भने केही राहत महसुस गरेका छन् ।

सडककिनारमा लम्पसार सुतेका ती जनयुद्धका लडाकुहरू शान्ति सम्झौतापछि सरकारसँग उपचारको गुहार गरिरहेका छन् । २०६३ सालमा तत्कालीन माओवादीले सरकारसँग शान्ति सम्झौता गरेपछि कैलाली चिसापानीको क्यान्टोनमेन्टमा बसेका दर्जीले जनमुक्ति सेनाबाट अवकाश लिएका हुन् ।

जनमुक्ति सेनाबाट अवकाश लिँदा पाएको पाँच लाख रूपैयाँ दर्जीले उपचारमै खर्च गरिसके । धुलो छल्न मुखमा लगाएको माक्स मिलाउँदै दर्जीले भने, ‘अवकाश पाउँदा पाएको रुपैयाँ त उपचारमा खर्च भइसक्यो ।’

पाँच सन्तानका पिता दर्जीका दाजुभाइ पनि पाँचजना नै छन् । कमाउन पुग्ने जमिन पनि नभएको बताउने दर्जीले उपचारका लागि ऋण पनि नपाएपछि सरकार गुहार्नुपर्ने बाध्यता आइलागेको हो । ‘ऋण पनि खोज्या हुँ,’ दर्जी भन्छन्, ‘कमाउन नसक्ने मजस्तालाई ऋण पनि कसैले पत्याएनन् ।’



सरकारले माओवादी आधार इलाका भनिएका क्षेत्रमा २०५५ सालमा ‘किलोसेरा टु’ अप्रेसन सुरु गरेपछि दर्जी तत्कालीन माओवादी छापामारमा भर्ना भएका हुन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५५ असारबाट कालिकोटजस्ता माओवादीका जनआधार भएका क्षेत्रमा ‘किलोसेरा टु’ अप्रेसन चलाएको थियो । 

तत्कालीन शाही सेनाले कालिकोटमा किलोसेरा टु अप्रेसन चलाइसकेपछिको दर्दनाक अवस्था सम्झिँदै दर्जी भन्छन्, ‘त्यतिखेर त कालिकोटका गाई, भैंसी पनि माओवादी हुन् भनेर जंगल पठाइयो । पाखा (घरको छानो)मा राखिएका कद्दु (फर्सी)लाई पनि माओवादीका टाउको भन्दै सेनाले गोली हान्थ्यो ।’



४० वर्ष पुगेका दर्जी माओवादी जनमुक्ति सेनामा रहँदा आधा दर्जनभन्दा बढी लडाइँमा सहभागी भए । लडाइँमा उनले देखाएको वीरता र साहसकै कारण उनी जनमुक्ति सेनाको प्लाटुन कमान्डरसम्म पुगेका थिए । 

माओवादी जनयुद्धमा दर्जीले एकै वर्षमा तीनवटा ठूला लडाइँ लडे । २०५९ सालमा उनी अर्घाखाँची सदरमुकाम, जुम्ला सदरमुकाम र म्याग्दी सदरमुकाम आक्रमणका प्रमुख योद्धा थिए ।

माओवादीका यी तीन आक्रमणले देशमा जनयुद्धको प्रभाव र आतंक दुवै बढाएको थियो । यसबाहेक दर्जी २०५७ सालमा जाजरकोटको पाँचकटिया, कालिकोटको कोटबाडा विमानस्थल आक्रमण र २०५८ मा अछाम सदरमुकाम आक्रमणका योद्धा हुन् ।

देशमा युद्ध सकिएको दशक बितिसक्दा पनि दर्जीजस्ता योद्धाको मनमा मात्रै होइन शरीरमा पनि युद्धको डोब अझै बाँकी छन् । युद्धका तिनै खाटाले पोलेर असह्य भएपछि दर्जी अनशन बस्नुपरेको हो ।

जुम्ला सदरमुकाम खलंगा आक्रमण र कालिकोट कोटबाडा विमानस्थलको आक्रमणमा दर्जी घाइते भए । जुम्ला आक्रमणमा दर्जीको बायाँ खुट्टामा गोली लाग्यो भने कोटबाडा आक्रमणमा बमको धमाकाले उनको छाती हल्लियो ।

दर्जीको बायाँ खुट्टामा अझै पनि गोली छ । बमको धमाकाले हल्लिएको छातीबाट अझै पनि रगत आउँछ । चिसोमा बस्दा अझै पनि उनको छातीबाट रगत आउँछ, खुट्टा कटकटाउँछ । 

डाक्टरले चिसोबाट जोगिनु भनेको भए पनि उनले पाँच दिन–रात चिसो भुइँमा बिताए । ‘२०५६ सालदेखि युद्ध अनि क्यान्टोनमेन्ट हुँदै अहिले यो हालतमा पुगें,’ जाडोले लगलग काँप्दै दर्जीले भने, ‘बाँकी यस्तै हो जिन्दगी ।’

दर्जीकी श्रीमती पनि माओवादी नै थिइन् । भूमिगत कालमै उनका छोरा बिते । ‘क्या बिमार लागेथ्यो थाहै भएन, जंगलमा उपचार गर्न पाइनँ,’ दर्जीले छोरा बित्नुको कारण सुनाए ।

२०६१ सालसम्म जिल्ला कार्यकर्ताको रूपमा माओवादी रहेकी दर्जीकी श्रीमती २०६१ सालमा जनमुक्ति सेनामा प्रवेश गरेकी हुन् । प्लाटुन सहायक कमान्डसम्म पुगेकी उनकी श्रीमतीले पनि अवकाश नै रोजेकी थिइन् ।

वर्षौंदेखि शोषणमा परेको दर्जी परिवार माओवादीका उत्तेजक भाषण सुनेरै माओवादी प्रवेश गरेको बताउँछन् । माओवादी प्रवेश गर्नुको कारण सुनाउँदै उनी भन्छन्, ‘शोषक, सामन्तविरुद्धको माओवादी नीति मन पर्यो । हामीजस्तै गरिब दुःखी, शोषित मान्छेका लागि जनयुद्ध राम्रो होला भनेर माओवादीमा लागें ।’

अशिक्षा र गरिबीका कारण शोषित हुनुपरेका आफूजस्तै दलित र शोषित वर्गको मुक्तिका लागि जनयुद्धमा लागेको बताउने दर्जी अहिले निराश मात्रै होइन, हतास पनि छन् । 

याे पनि पढ्नुहाेस्ः 

जनयुद्धमा लागेकै कारण अशक्त बनेका दर्जीले यसरी उपचार खर्च नपाएर छटपटाउनुपर्ला भनेर कल्पना पनि गरेका थिएनन् । माइतीघर मण्डलाको पर्खालमा आड लाग्दै मलीन स्वरमा उनी भन्छन्, ‘अहिले आएर यस्तो हालतमा बस्नुपर्ला भन्ने त मैले कल्पना पनि गरेको थिइनँ ।’ 

माओवादी नेताले अहिले देखाएको कठोरता पनि आफूहरूले कल्पना नगरेको भन्दै दर्जी सुनाउँछन्, ‘नेताहरू सत्तामा पुगेपछि हामीलाई यसरी लत्याउँछन् भनेर कसैले सोचेको थिएन ।’

जनयुद्धको मोर्चामा जनार्दन शर्मा ‘प्रभाकर’, नन्दकिशोर पुन ‘पासाङ’, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेतासँग सँगै लडेको सम्झना दर्जीको मनमा अझै छ । 

जुम्लाको खलंगा आक्रमणमा घाइते भएपछि, खलंगा आक्रमण मोर्चाका बटालियन कमिसार जनार्दन शर्मा ‘प्रभाकर’ले भनेको कुरा सम्झिँदै दर्जी भन्छन्, ‘जुम्लाको लडाइँमा मेरो खुट्टामा गोली लाग्यो । साथीहरूले बोकेर टुँडिखेल ल्याउनुभयो । त्यही टुँडिखेलमा प्रभाकर हुनुहुन्थ्यो । मेरो खुट्टाबाट रगत बगिरहेको थियो,’ गोली लागेको बायाँ खुट्टा तन्काउँदै उनी अगाडि भन्न थाले, ‘मलाई गोली लागेको देखेपछि प्रभाकरले भन्नुभयो– साथीहरू अहिले हामी यो अवस्थामा छौ, तर हामीले जुनसुकै अवस्थामा र हालतमा पनि हाम्रा पीडाहरू सहनुपर्छ, पचाएर हिँड्नुपर्छ । कुन न कुनै दिन यी दुःख–कष्टलाई सुखमा परिणत गर्नेछौं ।’ यति सुनाइसकेपछि एकछिन टोलाएका दर्जी फेरि बोल्न थाले । 

यसपटक उनको स्वर अघिको जस्तो मलीन थिएन । आक्रोशित हुँदै दर्जीले भने, ‘अनि यो सारा दुःख, कष्ट तपाईंको सुखसयलका लागि सहेका हौं ?, सुखसयल त तपाईंले मात्र पाउनुभएको छ ?’ दर्जीको आक्रोश देखेपछि उनको छेवैमा पल्टेका अर्का लडाकुले पुलुक्क दर्जीलाई हेरे । साथीले हेरेपछि दर्जी शान्त भए ।

फरकधार टिमले अरू आक्रमणको बारेमा पनि बताउन आग्रह गरेपछि उनले इन्कार गर्दै भने, ‘ती क्षणहरू अहिले सम्झिँनै सकिदैनन् । बुझ्नै सकिदैनन् ।’

युद्धमोर्चामा ‘साथीहरू’ भन्ने नेता अहिले जनयुद्धका लडाकु देख्दा अनुहार अर्कोतिर फर्काएर हिँडेको देख्दा दर्जीलाई जनयुद्ध कुनै सपनाजस्तो लाग्छ । नेताहरूको रुष्ट व्यवहार देख्दा दर्जीको शरीरमा रहेका घाउभन्दा धेरै मुटु पोल्छ । 

दर्जी सुनाउँछन्, ‘हाम्रा सपना र हामीलाई गरेका वाचा त कहाँ हो कहाँ, ऊबेलामा लडाइँ लड्दाका साथी भन्नेहरू अहिले हामी घाइतेलाई देखेपछि मुख मोडेर हिँड्नुहुन्छ । यस्तो देख्दा दुःख लाग्छ, ती क्षण सम्झिँदा मुटु पोल्छ,’ गहभरि आँसु बनाउँदै दर्जीले भने, ‘यस्तो देख्नु भन्दा त युद्धमै मरेको भए हुन्थ्यो जस्तो लाग्न थालेको छ ।’

तत्कालीन माओवादी नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेकै समयमा आफूहरू उपचार नपाएर तड्पिनुलाई उनले माओवादी नेताले जनता र जनयोद्धाप्रति गरेको गद्दारीको रूपमा बुझेका दर्जी भन्छन्, ‘लडाइँको समयमा नेताहरूले गरेको वाचा र आजको व्यवहार देख्दा त अहिल्यै आत्महत्या गरौं जस्तो लाग्छ ।’

जनयुद्धमा आफ्नै आँखाअघि सहिद भएका योद्धाको सपना उनीहरूसँग गरेको वाचाले मात्र आफूलाई जीवत राखेको बताउने दर्जीले अछामको सदरमुकाम मंगलसेन आक्रमणमा सहिद भएका आफ्ना साथी सम्झिँदै भने, ‘मंगलसेन आक्रमणमा सहिद भएका हुम्लाका कमरेड चट्टानले आफ्नो प्राण जानुअघि मलाई कमरेड, हो म त गएँ, यो लाल झन्डालाई नछोड्नुहोला, विचलित नहुनुहोला, बरु सहिद हुनुहोला भन्नुभएको थियो ।’

नेताप्रतिको आक्रोश पोख्दै उनले अगाडि भने, ‘उहाँहरूजस्तै हजारौं साथीको देन होला हाम्रा नेताहरू अहिले चिल्ला कारमा घुम्न सक्ने भएका छन् । मोजमस्ती गर्न सक्ने भएका छन् ।’

नियमित औषधि सेवन गर्नुपर्ने दर्जी अहिले अनशनको समयमा पानी पनि नखाई औषधि खाइरहेका छन् । अन्नपानी नखाएरै निरन्तर उच्च डोजको औषधि सेवन गरिरहेका दर्जीलाई काठमाडौंको चिसोले गलाइसकेको भए पनि उनले हार मानेका छैनन् । 

जनयुद्धका साहसिक दिन सम्झिँदै उनी आफूभित्र ऊर्जा पैदा गर्छन्, ‘मैले जिपिएमजी, एसएमजी, एके ४७, राइफल, ग्रिनेड चलाएँ । त्यतिखेर साथीहरूसँग लडाइँको मोर्चामा रहँदा जीवनमा छुट्टै ऊर्जा हुन्थ्यो । देश बदल्छौंजस्तो लाग्थ्यो,’ कालो ज्याकेटमा लागेको धुलो टकटक्याउँदै उनी फेरि भन्न थाले, ‘तर, अहिले हेर्दा केही गर्न सकिनँ कि जस्तो लाग्छ ।’

उच्च तहमा पुगेका नेताहरूको व्यवहारले गर्दा नै जनयुद्ध लडेका योद्धाको मनमा युद्ध गलत थियो कि भन्ने धारणा बसेको उनको ठम्याइ छ । आफ्नै नेताले साथ छाडेपछि सरकारी मान्छेले समेत हेप्न थालेको उनले सुनाए । 

जिल्लाका सरकारी कर्मचारीले जनयुद्धका लडाकुप्रति गरेको व्यवहार सम्झिँदै उनले भने, ‘उपचार र सहयोगका लागि जिल्लामा सिडिओलाई तोक लगाइदिनुहोस् भन्दा, सिडिओले ‘हिजो जनयुद्ध जाने समयमा सिडिओसाब हामी लडाइँमा जाँदै छाैं तोक लगाइदिनुहोस् भनेका थियौ ? भन्दै व्यंग्य गर्छन् ।’

कम्युनिस्टको सरकार हुँदा नै कम्युनिस्ट आन्दोलनका योद्धाले खेप्नुपरेको यो सास्ती अझै थपिने हो कि भन्ने चिन्ता पनि दर्जीलाई छ । आफ्नै कमान्डरले मन्त्रालयबाट गलहत्याएर निकालेपछि अपमानित महसुस गरेका दर्जी अब घर फर्किने अवस्थामा छैनन् । 

भएको सबै सम्पत्ति उपचारमै सकिसकेका दर्जी अब घर फर्किनु भनेको परिवारलाई थप आर्थिक भार पार्नु रहेको बताउँछन् । त्यही भएर दर्जीले अब सास फेरुन्जेलसम्म अनशनमै बस्ने सोच बनाइसकेका छन् । ‘सास फेर्दासम्म यहीँ बस्छु, भएन भने यहीँ मर्छु ।’
 

  • प्रकाशित मिति : पुस ४, २०७५ बुधबार १३:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया