युक्रेनसँग शान्ति सम्झौता गर्न यस्ता छन् पुटिनका माग

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि केही मागहरू अगाडि सारेका छन् । उनले बिहीबार टेलिफोनवार्ताका क्रममा टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनसमक्ष रुसका ठोस मागहरू अगाडि सारेका हुन् ।

पुटिन र एर्दोआनबीच भएको कुराकानी एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनले पनि सुनेका थिए । उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन् । कालिनले बताएअनुसार सुरु चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन ।

तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन् । पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन् ।

युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस् ।

युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ ।



यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए । तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ ।

नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ । दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ ।



जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन् । दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन् ।

उनले ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित रहेको बताए । –बीबीसी 

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार ८:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया