सुदूर पहाडका यात्रुको गुनासो- नेपाल एयरलाइन्सले नेता बोक्छ, जनता बोक्दैन
मनलाग्दी भाडा लिँदै निजी जहाज

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चालन हुने हवाइजहाजले महँगो भाडा लिने गरेको गुनासो आउन थालेको छ । धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, बैतडी, अछाम र डोटीमा यतिबेला सरकारी र निजी क्षेत्रका एक/एक जहाजले सेवा दिँदै आएका छन् । 

जिल्लामा जहाज सञ्चालनमा आएपछि १२ घण्टाको यात्रा गरेर प्रदेशको अस्थायी राजधानी धनगढी पुगिने समस्याबाट मुक्ति पाइने आशा स्थानीयमा थियो । तर, जहाजले स्थानीयको क्षमताभन्दा बढी भाडा लिने गरेपछि स्थानीयलाई हर्ष न विस्मात भने जस्तै भएको छ । जिल्लामा जहाज सञ्चालनमा आएको भए पनि भाडा महँगो हुँदा समस्या भएको स्थानीय वीरेन्द्र सिंहले बताए ।  

उनले भने, ‘धनगढीदेखि बझाङसम्मको एकतर्फी हवाइ भाडा सुरुमा ५ हजार लिने गरेको र त्यसपछि अहिले ५ हजार ७ सयभन्दा बढी लिने गरेको छन् । धनगढीबाट बझाङ पुग्न २२ मिनेट समय लाग्छ । २२ मिनेटको भाडा यति धेरै भनेको त जनताको ढाड सेक्ने बाहेक अरू के नै हुन्छ ?’

सरकारी स्वामित्वको एक र निजी क्षेत्र समिट एयरको अर्काे गरी दुई जहाजले सेवा दिइरहेका छन् । नेपाल वायुसेवा निगमको जहाज कहिले उड्ने भन्ने टुङ्गो नै नहुने भएपछि निजी क्षेत्रको जहाज समिटले मनलाग्दी भाडा लिइरहेको छ । 

वायुसेवा निगमको जहाजको भाडा ३ हजार ९ सय भए पनि आसेपासे र राजनीतिक दलका नेताले मात्रै सिट पाउन थालेपछि उक्त जहाज स्थानीयको पहुँचभन्दा बाहिर छ । 

वायुसेवा निगमको जहाज सञ्चालनका लागि संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनपछि उक्त जहाज सञ्चालनमा आएको हो । वायुसेवा निगमको जहाजमा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको मात्रै रजगज हुने गरेको स्थानी नरेन्द्र खड्काले बताए । 



‘समिटमा भाडा तिर्न सक्ने हैसियत जनताको छैन । वायुसेवाको निगमको जहाजले जनतालाई भन्दा नेतालाई बढी बोक्ने गर्छ । जनताले १२ घण्टाको बसको यात्रा गरेर धनगढी पुग्नुको विकल्प छैन’, उनले भने ।

२०७६ असोजमा गरिएको परीक्षण उडान सफल भएपछि पछिल्लो दुई वर्षयता जिल्लामा निजी क्षेत्रको समिट एयरले सेवा दिँदै आएको छ । गत असोज र कात्तिकमा आएको अविरल वर्षापछि सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सुदूरपश्चिममा नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न निर्देशन दिएका थिए ।  



त्यसयता सरकारी स्वामित्वको टुइनटर जहाजले पनि सेवा दिइरहेको छ । यो जहाज जिल्लामा उडान भर्ने भन्दा पनि उडान रद्द बढी हुने गरेको छ । उता, बैतडी विमानस्थल पाटनमा निजी कम्पनीको हवाइजहाजले मात्रै उडान भर्दै आएको छ । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको जहाज उडान नहुँदा यात्रुहरूले बढी भाडा तिर्नुपर्ने बाध्यता छ । 

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, डोटी र बाजुराका विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्दै आए पनि बैतडीमा भने निजी क्षेत्रको हवाइ कम्पनीले मात्रै उडान भर्दै आएको छ । 

समिटले सुरुमा ३ हजार ८ सय भाडा तोकेर उडान गर्दै आएको भए पनि अहिले भाडा बढाएर ४ हजार ५ सय पुर्‍याएकाे स्थानीय जनक साउँदले बताए ।

एकलौटी रूपमा हवाइ भाडा बढाएको भए पनि स्थानीय प्रशासनले कुनै चासो नदिएको उनकाे भनाइ छ । हवाइ इन्धनको मूल्य बढेपछि भाडा बढेको बैतडी नागरिक उड्डयन कार्यालयका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । 

उनले भने, ‘हवाइ इन्धनको मूल्यवृद्धि भएको तपाईंहरूलाई थाहा नै छ । इन्धनको मूल्य बढेपछि भाडा पनि बढाउनु परेको हो । इन्धनको मूल्यअनुसार नै सबैको सहजताका लागि सामान्य मूल्यवृद्धि भएको छ ।’

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार ९:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया