मेलम्चीका २८ वर्ष : बाग्मतीमा रयाफ्टिङदेखि काठमाडाैं डुबाउनेसम्मका कुरा !

 २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने वाचा गरेसँगै सुरु भएको मेलम्ची खानेपानी आयोजना आजसम्म सरकारैपिच्छे वाचाकै भरमा चलेको छ । काठमाडौंवासीले २८ वर्षदेखि निरन्तर मेलम्चीको काठमाडौं आउने वाचा सुन्दै आएका छन् ।

सरकारी निकायले बारम्बार मेलम्चीको पानी काठमाडौं आइपुग्नै लाग्यो भन्दै प्रचारबाजी गर्दै आएका छन् । उनीहरूका भनाइलाई आधार मान्दै सञ्चारमाध्यमले पनि मेलम्चीको पानी आइपुग्नै लाग्यो भन्दै समाचार छापिरहन्छन् । सराेकारवाला सरकारी निकाय र मिडियालाई पत्याउँदै काठमाडौंवासी मेलम्चीको पानी आउने भयो भनेर दंग पर्छन् ।

तर, फेरि मेलम्ची काठमाडौं भित्रिने समय लम्बियो भन्ने समाचार आउँछन् अनि केही दिनमै काठमाडौंवासी निराश बन्छन् । यो सिलसिला विगत २८ वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । 

२०७४ मंसिरमा सरकारले २०७५ वैशाखमा मेलम्चीको पानी काठमाडौं ल्याउँछौँ भनेर वाचा गरेको थियो ।  त्यसपछि २०७४ चैतमा खानेपानीमन्त्री बीना मगरले २०७५ को दसैँअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउँछाैँ भनेर भाषण गरिन् । उनले मेलम्चीको पानी काठमाडौं ल्याएर बाग्मतीमा स्विमिङ र र्याफ्टिङ गराउनेसम्मको सपना पनि देखाउन भ्याइन् ।

खानेपानीमन्त्रीले दसैँअघि नै काठमाडौंमा मेलम्चीको पानी पुर्याउँछु भनेको केही दिनपछि नै मेलम्ची खानेपानी आयोजनाले प्राविधिक कारण देखाउँदै केही ढिला हुने बतायो । 

दसैँसम्म पानी ल्याउने नसक्ने देखिएपछि आयोजनाले आफ्नो वाचा तिहारसम्म सार्यो । २०७४ चैतको एक कार्यक्रममा मन्त्री बीना मगरले २५ दिनमै मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्याउने वाचा पनि गरेकी थिइन् ।



यसअघि २०७४ मंसिरमै २०७५ को वैशाखमा काठमाडौंमा मेलम्ची आउने बताइएको थियो । त्यतिखेर त मेलम्ची आएपछि काठमाडौंले मेलम्चीको पानीको भार थेग्न नसक्ने र काठमाडौं डुबानमा पर्नेसम्मका चर्चा हुन भ्याए ।

२०७३ यता काठमाडौंवासीले मेलम्ची खानेपानीको नाममा धुलो र धुवाँ पनि खाए । मेलम्ची खानेपानी आयोजनाले बल्लबल्ल निर्माण भएका सडक छाती चिरेर पाइपलाइन बिच्छ्याउने काम गर्यो । 



सडकको बीचमा मेलम्ची पाइपलाइनको कामले सडकमा जाम बढायो, धुलो धुवाँ बढायो, तैपनि मेलम्चीको पानी आउनेभएपछि काठमाडौंवासीले धुलो, धुवाँ खपे । उपत्यकाका मूल सडक, फुटपाथ र गल्ली सबैतिर मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याउने भन्दै सडक खनियो, केही स्थानमा बिच्छ्याइयो पनि । 

खानेपानी पाइपलाइनको काम धमाधम भइरहेको देखेपछि काठमाडौंवासी मेलम्चीको पानी आउने भयो भनेर आशावादी भएका थिए । मेलम्ची खानेपानी आयोजनाका अनुसार काठमाडौंमा ७ सय ३० किलोमटिर पाईप बिच्छ्याउनुपर्छ ।

मेलम्चीको पानी काठमाडौं आए पनि वितरण र भण्डारण गर्न भन्दै काठमाडौंमा ९ वटा पोखरी बनाउने कुरा पनि चलेको थियो । 

यसभन्दा अघिल्लो वर्ष २०७३ मा पनि २०७४ को दसैँअगाडि काठमाडौंमा मेलम्चीको पानी पुग्ने बताइएको थियो । तत्कालीन संसद्को विकास समितिले मेलम्ची खानेपानी आयोजनको अनुगमनपश्चात् २०७४ को दसैँअगाडि नै काठमाडौंमा पानी आइपुग्ने निष्कर्ष निकालेको थियो । 

विकास समितिको प्रसंग यहीँ सकिँदैन, गत मंसिर १६ गतेको विकास समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिवले ६० दिनमै पानी ल्याउने ठोकुवा गर्दै भनेका थिए, ‘म ठोकुवाका साथ भन्छु, दुई महिनामा सबै काम सकिन्छ र त्यसको सात दिनभित्र पानी आउँछ ।’ 

खानेपानी मन्त्रालयका सचिवले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने वाचा गरिरहँदा, उनले विकास समितिमा प्रस्तुत गरेको विवरणमा भने २०७९ सम्म मेलम्चीको पानी काठमाडौं आइपुग्ने लेखिएको थियो । 

सचिवको कुरा पत्याउँदै सञ्चारमाध्यमले मेलम्चीको पानी ६० दिनमै काठमाडौं आइपुग्ने भन्दै प्राथमिकताका साथ लेखे पनि । सोही बैठकमा उनले विश्व बैंकको ऋण सर्तका कारण काममा ढिलाइ भएको समेत बताएका थिए ।

सरेको सर्यै मेलम्ची खानेपानीको डेटलाइन 

करिब ३ दशक पुग्न लागेको मेलम्ची आयोजनाको नाम सुनेर एक पुस्ता बुढो भइसकेको छ । यो आयोजनाको डेटलाइन कतिपल्ट सर्यो भनेर सायद मेलम्ची खानेपानी आयोजनासमेतलाई हेक्का छैन । 

सञ्चारमाध्यममा हप्तैपिच्छे, महिनैपिच्छे मेलम्ची खानेपानी आयोजनाको आउने र नआउने भन्दै डेटलाई सरिरहन्छ । आयोजना सुरु हुँदा आयोजना सुरु भएको ९ वर्षभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने बताइएको थियो । 

तर, ९ वर्षमा आयोजना कागजमा मात्रै सीमित भएपछि २०७० असोज ५ गतेसम्म मेलम्चीको पानी काठमाडौं पुर्याउने वाचा गरियो । २०७० सालको असोज बित्यो मेलम्चीको पानी काठमाडौं आइपुगेन ।

तेस्रोपटक २०७३ को दसैँमा पानी आउने गरी आयोजनाले समयसीमा तोक्यो । तर, असोज १५ गते आउने भनिएको पानी यसपटक पनि आएन । 

यसपछि, २०७४ दसैँ, २०७५ दसैँ भन्दै समयसीमा तोकिएको थियो । दसैँ बितेपछि सरकारले कात्तिकको समयसीमा तोक्यो । कात्तिक पनि बितेपछि सरकारले फागुनको समयसीमा तोकेको थियो । फागुनमा मेलम्चीको पानी आउने भयो भनेर काठमाडौंबासीले दिनगन्ती सुरु गरिरहेको समयमा इटालियन ठेकदार कम्पनी सिएमसीले मेलम्चीबाट हात झिकेको छ ।

आर्थिक अवस्था टाट पल्टिएको भन्दै उसले मेलम्ची छाडेको स्वघोषणा गरेको हो । सरकारले सिएमसीको केही मानिसलाई पक्राउ गरेको पनि बताएको छ । 
 
 कति भयो खर्च ?

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब रुपैयाँ लागत अनुमानसहित सुरु भएको यो आयोजनाको अवधि लम्बिँदै जाँदा लागत पनि बढ्दै गएको हो । 

यही आयोजनाका लागि भनेर सरकारले विश्व बैंक, एसियाली विकास बैंकजस्ता विभिन्न आठवटा दातृनिकायसँग ऋण लिँदै आएको छ । 

याे पनि पढ्नुहाेस्

२५ अर्ब खर्चंदा पनि अझै सकिएन मेलम्ची खानेपानी आयोजना काम

विश्व बैंकका कारण आएन मेलम्चीको पानी

मेलम्चीकाे पानी आउन अझै ४ वर्ष लाग्ने


  

  • प्रकाशित मिति : पुस ४, २०७५ बुधबार १५:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया