आइसिसी महिला विश्वकप : भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा
अस्ट्रेलियाको लगातार पाँचौ जित, दुई खेलअगाबै सेमिफाइनलमा

न्युजिल्यान्डमा जारी आइसिसी महिला एक दिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । 

लगातार पाँचौ जित निकाल्ने क्रममा अस्ट्रेलियाले भारतमाथि ६ विकेटको जित हात पारेको हो । 

यो जितसँगै अस्ट्रेलियाले दुई खेलअगाबै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

२७८ रनको लक्ष्य अस्ट्रेलियाले ३ बल बाँकी छँदा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि कप्तान मेग लनिंग र एलिसा हेलीले अर्धशतकीय पारी खेले ।

१०७ बलमा ९७ रन बनाएकी लनिंगले १३ चौका प्रहार गरिन् । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १५ औं शतक पूरा गर्न मात्र ३ रनले चुकिन् । 

६५ बलको सामना गरेकी हेलीले ९ चौकासहित ७२ रन बनाइन् । बेथ मोनी ३० रनमा अविजित रहँदा राचेल हाइनेसले ४३ र एलिस पेरीले २८ रन जोडे ।
 
पहिलो विकेटका लागि हेली र हाइनेसले १२३ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, तेस्रो विकेटका लागि लनिंग र पेरीले १०३ रनको साझेदारी गरे ।



भारतका लागि पूजा वस्त्राकरले २, मेघना सिंह र स्नेह रानाले १–१ विकेट हात पारे । 

यसअघि अकल्यान्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।



भारतका लागि कप्तान मिथाली राज, यातिस्का भाटिया र हरमनप्रित कौरले अर्धशतकीय पारी खेले । मिथालीले सर्वाधिक ६८ रनको योगदान दिइन् । ९६ बलको सामना गरेकी उनले ४ चौका र १ छक्का प्रहार गरिन् । 

यातिस्काले ८३ बलमा ६ चौका सहित ५९ रन बनाउँदा ४७ बलमा ५ चौका प्रहार गरेकी हरमनप्रित ५७ रनमा अविजित रहिन् ।

तेस्रो विकेटका लागि मिथाली र यातिस्काले १३० रनको साझेदारी गर्दै भारतको पारी उकासेका थिए । सातौं विकेटका लागि हरमनप्रित र पूजा वस्त्राकरले ६४ रनको साझेदारी गरे । पूजाले ३४ रनको योगदान दिइन् । 

अस्ट्रेलियाका लागि डार्सी ब्राउनले ३, एलना किंगले २ तथा जेस जोनासेनले १ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो जितसँगै ५ खेलमा १० अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा कायम रहँदा पराजित भारत समान खेलबाट ४ अंकका साथ चौथो स्थानमा छ । 

  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १४:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया