मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने राष्ट्रिय फुटबल टोलीको बिदाइ

मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा मितिमा नेपालमै टिम बोलाएर खेलाउने प्रयास गरे पनि प्राविधिक कारणले गर्दा सम्भव नभएको बताए ।

‘नेपालमै खेलाउन खोजेको टिम ल्याउन सकेनौँ । धेरै निमन्त्रणा आएको थियो त्यसमा थाइल्याण्डसँग खेल्ने भएका छौं,’ शेर्पाले भने । उनले थाइल्याण्डविरूद्व टोलीले राम्रो प्रदर्शन गर्नेमा आफू आशावादी रहेको पनि बताए । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेल भएकाले खासै दबाब नभएको पनि फिफा वरीयतालाई ध्यानमा राख्दै टोली जित्नकै लागि मैदान उत्रिने बताए ।

नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डको राष्ट्रिय टोलीसँग २४ मार्च मा खेल्नेछ ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि २७ मार्चमा मैत्रीपूर्ण खेल खेल्नेछ ।



दुवै खेल चोनबरीमा हुनेछ । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटको समूह ‘ए’मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेल कुवेतमा  हुनेछ । 



एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।

हरेक समूहका शीर्ष टोली र उत्कृष्ट दोस्रो हुनेमध्य ५  टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरूवात गर्नेछ । दोस्रो खेलमा नेपालले ११जुनमा कुवेतको सामना गर्दा तेस्रो तथा अन्तिम खेल १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १७:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया