राजनीतिक दलहरूले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरू चुनावकेन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् ।
निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ ।
यसैक्रममा, देशभर ठूला, मझौला र साना सभा गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ ।
पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरू सह संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।
समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरू, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरू समितिमा रहेका छन् ।
आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उपाध्यक्षहरू ध्रुवबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।