\
२१ फागुन ०७७ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर शान्ति प्रक्रियाको बाटो रोजेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी निर्वाचनमा सहभागी हुनेगरी तयारी अघि बढाएको छ ।
कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी स्थानीय तहको निर्वाचनलाई उपयोग गर्नपर्ने प्रस्ताव ल्याएपछि त्यसका पाटापक्षमा बहस सुरु भएको हो ।
यसअघिको निर्वाचनमा विप्लव नेतृत्वको नेकपा सहभागी नभएको मात्र होइन, निर्वाचन नै बिथोल्ने निर्णय समेत गरेको थियो ।
विगत १ वर्षदेखि मूलधारको राजनीतिमा आएको यो समूहभित्र निर्वाचनमा सहभागी हुने विषयमा हंगामा नै सुरु भएको हो ।
सो दलका एक नेताका अनुसार निर्वाचनमा जानेबारे आएका मतभेदलाई पार्टीको जारी बैठकबाट निर्णय गरेर निर्वाचनमा जाने तयारी चलिरहेको छ ।
‘अहिलेलाई यत्ति भनेँ, हामी निर्वाचनमा सहभागी हुन्छौं’, पार्टीका एक केन्द्रीय नेताले बताए ।
त्यसो त, निर्वाचन नजिकिँदै जाँदा विप्लव निकट नेताहरूले विभिन्न राजनीतिक दलका नेताहरूसँग आन्तरिक भेटवार्ता पनि बढाएका छन् ।
सत्तारूढ गठबन्धनभित्र निर्वाचनमा कसरी जाने भन्नेबारे यकिन निर्णय भई नसक्दा साना दलहरूलाई कसरी अघि बढ्ने भन्नेबारेमा अझै अन्यौल रहेको छ ।
निर्वाचनको प्रस्तावले पार्टीभित्र तरङ्ग !
महासचिव विप्लवले निर्वाचनमा जानुपर्ने तर्क अघि सारेसँगै पार्टीभित्रका नेताहरूले भने त्यसमा आपत्ति जनाएका छन् । महासचिव विप्लवले चुनावको उपयोग गरेर जानपर्ने तर्कसहित प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सबै केन्द्रीय समिति सदस्यहरूलाई बाँडिएको छ ।
पाँच सदस्यीय स्थायी कमिटीमा विप्लवको प्रस्तावमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सहमति जनाएका छन । अन्य दुई सदस्य हेमन्तप्रकाश वली र धमेन्द्र बास्तोलाले असहमति जनाएका छन ।
अर्का स्थायी कमिटी सदस्य सन्तोष बुढामगर भने तटस्थ छन ।
शीर्ष नेताहरूले निर्वाचनमा जान नहुने भन्दै अडान यथावत राखेसँगै पार्टीभित्र असन्तुष्टि चुलिएको एकजना केन्द्रीय सदस्य बताउँछन ।
उनले भने, ‘अहिले हामी चुनावमा सहभागिता जनाउँछौं । केही सदस्यले यसमा विमति पनि राख्नुभएकाे छ । तर, यसका लागि पार्टीमा डिसिजन गरेर अघि बढ्छौं । ठोस कुरा भनेको हामी निर्वाचनमा भाग लिन्छौं ।’
पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्नेगरी महासचिव विप्लवले तयारी अघि बढाएका हुन् ।
‘हामीले जनमत संग्रहको कुरा पनि अघि सारेका कारणले चुनावमा भाग लिने र जनमत संग्रहको नारालाई अगाडि बढाउनेगरी तयारी गर्छौं’, ती नेताले भने ।
जबरजस्त चुनावमा जान खोजिए विरोधमा उत्रने तयारी विप्लवभित्रकै नेताहरूको भनाइ छ ।
एमालेसँग तालमेलको संभावना छ ?
एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री भएको बेलामा शान्ति प्रक्रियामा प्रवेश गरेको विप्लव समूह आफ्ना ३ बुँदे माग अक्षरंस पालना नभएकोप्रति असन्तुष्ट छ ।
वर्तमान सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि विप्लवले आफ्ना माग सम्बोधन गर्नका लागि आग्रह गरिसकेका छन ।
तर, सरकारले खासै त्यसतर्फ चासो दिएको छैन ।
विप्लव समूहभित्र कोसँग तालमेल गरेर अघि बढ्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय भएको छैन । तर, एमालेकै सरकारसँग वार्ता गरेर भूमिगत राजनीति छाडेको थियो ।
अहिले सत्ता गठबन्धन एकातिर एमाले अर्कोतर्फ छ । यतिमात्र होइन, हिजो जनयुद्धमा सँगै कमाण्डर बनेका सहयोद्धाहरू रामबहादुर थापा बादल, लेखराज भट्ट लगायतका नेताहरू अहिले एमालेमै छन् ।
बादल र भट्टले पहल गरेको अवस्थामा एमालेसँग तालमेल गरेर अघि बढ्दा निर्वाचनका माध्यमबाट आफ्ना मुद्दाहरू स्थापित गराउन सहज हुनेबारे पार्टीमा छलफल अघि बढेको छ ।
केही समयअघि सामाजिक सञ्जालतिर प्रकाण्ड एमाले प्रवेशको हल्ला चलेको थियो । त्यतिबेलै प्रकाण्डले आफ्ना विरुद्ध भ्रमपूर्ण हल्ला फैलाइएको फरकधारलाई बताएका थिए ।
एकाएक, निर्वाचनमा जानेबारे पार्टीभित्र चर्चा चलिरहँदा एमालेसँग तालमेलको संभावना बढ्दै गएको अनुमान राजनीतिक वृत्तमा हुन थालेका छन् ।
माओवादीमा तान्ने प्रयास ?
माओवादी अध्यक्ष प्रचण्डले क्रान्तिलाई बीच बाटोमै छाडेको आरोपसहित विप्लवले आफ्नै नेतृत्वमा पार्टी स्थापना गरेका थिए । २०६९ सालमा मोहन वैद्यसहित प्रचण्डसँग ‘सम्बन्ध विच्छेद′ गरेका विप्लवले वैद्यसँग पनि २०७१ मा छुटिएका थिए ।
त्यसपछि उनले एकीकृत जनक्रान्तिको राजनीतिक कार्य दिशासहित हिंसात्मक संघर्षमा जोड दिएका थिए ।
वैज्ञानिक समाजवादको नारासहित भूमिगत शैली अपनाएका विप्लवले सोचेजस्तो क्रान्ति अघि बढ्न नसकेपछि ब्याक भएर शान्ति प्रक्रियामा सामेल भएका थिए ।
कपिलवस्तुबाट काठमाडौं उपस्थिति भएर सार्वजनिक भएका विप्लवले केही समयपछि प्रचण्डसँग भेट गरे । त्यसयता, प्रचण्डसहित माओवादीका विभिन्न नेतासँग विप्लवले उठबस बढाएका छन् ।
महासचिव विप्लव र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच भेटवार्ता भएको थियो । उक्त भेटमा दुई नेताहरूबीच मिलेर स्थानीय निर्वाचन जानेबारे छलफल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।